मधेश सरकार
एमाले 'आउट'-कांग्रेस, लोसपा र नेकपा एसकाे 'इन्ट्री '
जनकपुरधाम- मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरू बाहिरिएका छन् । मंगलबार दिउँसो एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । केन्द्रीय राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै संघीयसहित प्रदेश सरकारबाट समेत एमाले बाहिरिएकाे थियाे ।
आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले समर्थन नगरेपछि जसपाका मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूसँग फोन मार्फत राजीनामा माग गरेका थिए ।
हुन त यसअघि नै उपराष्ट्रपतिको निर्वाचनपछि नै एमालेका मन्त्रीहरूले राजीनामा दिने तरखरमा थिए । तर, बारा २ मा हुने उपनिर्वाचनमा सत्तारूढ गठबन्धनले नसघाएपछि एमालेको साथ लिएर जाने सोचमा रहेकाे जसपा नेतृत्वको सरकारले उनीहरूसँग राजीनामा माग गरेका थिएनन् । तर, पछिल्लो पटक उपनिर्वाचनमा गठबन्धनबाट सघाउने प्रतिबद्धता आएपछि र एमालेले पुरुषोत्तम पौडेललाई आफ्नै उम्मेदवारका रूपमा खडा गरेपछि मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूसँग राजीनामा मागेका थिए ।
नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरूलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिएको जानकारी दिएका छन् । उनले केन्द्र सरकारको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाइ दिन मुख्यमन्त्री यादवले आग्रह गरेपछि आफूहरूले सरकारबाट बाहिरिएको बताए ।
मुख्यमन्त्री यादवले नेकपा एमालेका मन्त्रीहरूले दिएको राजीनामा आ जै स्वीकृत गरिसकेका छन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीका रूपमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा मोहम्मद जैद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधनप्रसाद सिंह, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए ।
भौतिक पूर्वाधार विकासमन्त्री बनेका यादवले मुख्यमन्त्री यादवसँगै गत पुस २९ गते शपथ लिएका थिए भने अन्य मन्त्रीहरू माघ २० गते सरकारमा सहभागी भएका थिए । गत पुस २९ गते सरकारमा सहभागी भएको एमालेले साढे २ महिनापछि सरकार छाडेको हो ।
गत फागुन १५ गते एमाले सचिवालय बैठकले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ जना मन्त्रीहरू सरकार र मधेश बाहेकका प्रदेशबाट बाहिरिएका थिए । केन्द्र सरकारमा पनि गएको पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन एमालेसहित ७ दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए ।
मधेश प्रदेशमा एमालेले सरकार छाडेपछि अब कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने बताइएको छ । जनमत पार्टी भने केन्द्र सरकारबाट फिर्ता भइसकेपनि मधेशमा के गर्नेबारे अहिलेसम्म केही निर्णय लिन सकेको छैन । उपनिर्वाचन पश्चात् जनमत पनि मधेश प्रदेश सरकारमा रहने वा नरहनेबारे निर्णय गर्ने बुझिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया