मधेश

मन्त्रीहरूले राजीनामा दिए पनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

इकागज |
चैत २१, २०७९ मंगलबार १८:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री रामसरोज यादवले नेकपा एमालेले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताएका छन् ।

मंगलबार प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन् । उनले केन्द्रको गठबन्धन अनुरूप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरूलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको उल्लेख गरे ।


सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए । उनले मधेश प्रदेश सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गरे ।

एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका छन् । मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि आफूहरू सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिए । उनले नयाँ गठबन्धन अनुसार प्रदेश सरकार निर्माण गर्न सहज बनाइदिएको बताए ।

नेता यादवले सरकारलाई दिएको समर्थनबारे पछि छलफल हुने बताए ।


Author

थप समाचार
x