मधेश

प्रहरी कार्यालयमै इन्सपेक्टरकाे कुटाइले जसपा अध्यक्ष घाइते, नेता कार्यकर्ता आन्दाेलित

सुभाष कर्ण |
चैत २१, २०७९ मंगलबार १८:४४ बजे

जनकपुरधाम- आफ्ना नेतालाई कुटपिट गरेको भन्दै सप्तरीको राजविराजमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता/कार्यकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

जसपाका जिल्ला अध्यक्ष केदार यादवलाई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।


थापालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि जसपाका नेता/कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाको विषयमा बुझ्न जाँदा नसामा रहेका प्रहरी निरीक्षक थापाले आफूलाई कुटपिट गरेको पीडित यादवले बताएका छन् । प्रहरी निरीक्षक थापाको कुटपिटबाट अध्यक्ष यादवको आँखा छेउमा चाेट लागेकाे छ । घाइते यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको बताइएको छ ।

घटनाबारे सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहलाई सम्पर्क गर्दा उनका सहयोगीले मिटिङमा भएकाले बाेल्न नचाहेकाे बताए । हाल सो क्षेत्रको अवस्था तनावग्रस्त छ । 

यसैबीच नेपाल पत्रकार महासंघ सप्तरी शाखाले समेत प्रहरीको रवैयाप्रति भर्त्सना गरेकाे छ । अध्यक्ष यादवसँग भएको घटनाबारे रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरी कार्यालयभित्र छिर्न नदिई समाचार संकलनमा रोक लगाएर प्रेस स्वतन्त्रताको हनन भएको भन्दै विज्ञप्ति जारी गरी प्रहरीको रवैयाप्रति भर्त्सना जनाएको छ ।

यस्तै जसपा नेपाल समेतले घटनाबारे भर्त्सना गर्दै दोषी प्रहरीलाई अविलम्ब कारबाहीको माग गरेकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x