मधेश

रौतहटको गरुडामा विवाद

स्थानीयले ढुंगामुढा हाने, प्रहरीले अश्रुग्यास र गाेली- झडपमा इन्सपेक्टरसहित ६ घाइते

सुभाष कर्ण |
चैत २९, २०७९ बुधबार १८:९ बजे

जनकपुरधाम । रौतहटको गरुडामा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी प्रहरी र स्थानीयसहित ६ जना घाइते भएका छन् । सो झडपमा परी प्रहरीतर्फ ५ जना र एक प्रदर्शनकारी घाइते भएका हुन् ।

घाइते हुनेहरुमा प्रहरीतर्फ इन्सपेक्टर विरेन्द्र पासवान, वरिष्ठ हवलदार राकेश यादव, सहायक हवलदार ओमप्रकाश यादव, अनुसन्धान सिचक दिपक सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी वीरगबहादुर बुढा मगरले जनाएका छन् । 


यस्तै स्थानीय तर्फ प्रहरीको गोली लागेर घाइते हुनेमा गरुडा नगरपालिका ५ लक्ष्मीपुरका गजिन्दर यादव रहेको जनाइएको छ । पाखुरामा गोली लागेर घाइते भएका यादवको गरुडास्थित एक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको  छ ।

गत स्थानीय तहको निर्वाचनमा लोसपा नेपालबाट नगर प्रमुख पदमा प्रत्याशी दीपक यादव दलबलसहित नगरपालिका कार्यालयमा पस्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । विवाद बढ्दै गएपछि आन्दोलनकारी पक्षबाट ढुंगामुढा हुँदा प्रहरीले लाठी चार्ज अवस्था असामान्य बन्न गएको थियो । तनावग्रस्त अवस्था साम्य पार्न प्रहरीले ४ राउण्ड हवाई फायर र १२ राउण्ड आश्रुग्यास प्रहार गरेको एसपी मगरले जनाएको छ । 

विवाद किन ?

लोसपा नेता यादवले आयव्यय सहितको गरुडा नगरपालिकासँग सूचना माग गर्दै आएका छन् । सो क्रममा उनले पछिल्लो पटक ८ दिनसम्म आमरण अनशन समेत बसे । नगरपालिकासँगको  सहमतिमा उनले अनसन पनि तोडे । तर सहमति अनुसार सूचना नपाउँदा उनी थप कागजपत्र माग गर्दै आन्दोलन गर्ने चेतावनी दिदैं आएका थिए ।

यसैक्रममा बुधबार दलबलसहित करिब दुई बजे सूचना लिन नगरपालिका कार्यालयमा प्रवेश गर्न खोजे तर मेयरको निर्देशनमा प्रवेश गर्न दिइएन । प्रहरीले मेयर साबले भोलि बिहीबार सार्वजनिक गर्नु हुन्छ, त्यसमै सबै सूचना सार्वजनिक हुन्छ भनेर कार्यालय भित्र छिर्न दिएनन् । प्रहरीले मेयरको निर्देशन छ, भित्र छिर्न नदिनु भनेपछि विवाद हुँदै अवस्था बिग्रिन गयो । 

नेता यादवले दलबलसहित नगरपालिका, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध नाराबाजी गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गर्न बढ्न खोज्दा प्रहरीले रोकेपछि विवाद हुँदै गर्दा कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा मुढा बर्साउन सुरु गरेपछि प्रहरीले लाठी चार्ज गरेपछि अवस्था तनावग्रस्त बन्न गयो । गरुडाको स्थिति अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

आन्दोलनरत यादवको माग बमोजिम र नगरपालिकाको कार्यक्रम अनुसार गरुडा नगरपालिकाले बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रमलाई आफूले भनेको जस्तै नभएको भन्दै यादवले बहिस्कार  गरिसकेको बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x