मधेश

ऐनमा संशोधन गरी बृहत्तरको विकृति सुधार गर्ने छौं : मन्त्री किराती

सुभाष कर्ण |
चैत ३०, २०७९ बिहीबार २०:२५ बजे

जनकपुरधाम- बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा विकृति तथा विसंगति देखिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बताएका छन् । 

जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रूपले समृद्ध बनाउनका लागि परिषदको स्थापना गरिएको तर बृहत्तर विकृतिको डंगुरका रूपमा परिणत भएको किरातीले बताए । बिहीबार जनकपुरधाम आएका मन्त्री किरातीले बृहत्तरमा सुधार ल्याउन लागिपरेको बताए ।


उनले भने, 'बृहत्तर विकृतिको डंगुरका रूपमा परिणत भइसकेको छ, सुधारका लागि ऐनमा संशोधन गरेर भएपनि बृहत्तरलाई ट्रैकमा ल्याउँने छौै ।’

त्यस्तै जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउनका लागि केही प्राविधिक त्रुटीहरू रहेको समेत मन्त्री किरातीले जानकारी दिए । यसअघि नै जानकी मन्दिर 'विश्वसम्पदामा सूचीकृत भइसक्नु पर्ने थियो तर भएन,' उनले भने, ‘यसमा केही प्राविधिक त्रुटीहरू देखिएका छन् ती त्रुटी सुधार गर्दै जाने पहलमा जुटेका छौं ।'

एक अर्को प्रसंगमा मन्त्री किरातीले जनकपुरधामको मैथिली संस्कृति विश्वभरी विख्यात रहेकाले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेपनि त्यसको सदुपयोग गर्न नसकिएको बताए । उनले यहाँको पर्यटनमा विकास गर्नका लागि विमानस्थललाई सुविधासम्पन्न बनाउनु आवश्यक रहेको बताए ।

यहाँ भारतका विभिन्न शहरलाई हवाई मार्गसँग जोड्न सकिए पर्यटनमा लाभ उठाउन सक्ने भन्दै मन्त्री किरातीले यसका लागि जनकपुर विमानस्थलमा एटिआर विमानस्थल आवतजावत गर्न सक्ने गरी विकास गर्नु आवश्यक रहेको बताए । उनले जनकपुरधाम विमानस्थलको धावन मार्ग छोटो भएकाले धावन मार्ग विस्तारको काम छिट्टै सुरु गरिने प्रतिबद्धता समेत जनाए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x