मधेश

शहीदनगरले १६ जना बाल विकास शिक्षिकालाई काजबाट हटायो

सुभाष कर्ण |
चैत ३०, २०७९ बिहीबार २०:४७ बजे

जनकपुरधाम- धनुषाको शहीदनगर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत १६ जना बाल विकास सहयोगी कार्यकर्ता (शिक्षिका) हरूलाई काजबाट हटाइएको छ । 

काजबाट हटाइएपछि बक्यौता तलब भत्ता भुक्तानी र काममा फर्काउनु पर्ने माग गर्दै शिक्षिकाहरू अहिले आन्दोलनरत छन् । शहीदनगर नगरपालिकामा ५६ वटा बाल विकासको कोटा रहेकामा १६ वटा शिक्षिकाको नियुक्ति अवैधानिक रहेको पाइएको थियो । भदौ यताको तलब भत्ताको माग गर्दै आएका ती आन्दोलनरत शिक्षिकाहरूलाई गएको चैत २७ गतेदेखि काजबाट हटाइएको हाे ।


बिहीबार नगरपालिकामै पत्रकार सम्मेलन गरी मेयर दिनेशप्रसाद यादवले आन्दोलनरत बाल विकास सहयोगी कार्यकर्ताहरू गैरकानुनी रूपमा नियुक्ति लिई काम गरिरहेको लिखित निवेदन नगरपालिकाका कार्यालयमा परेपछि छानबिन गर्दा तिनीहरूकाे नियुक्ति गैरकानुनी ठहरिएपछि तलब भत्ता रोकिएको र काजबाट हटाइएको बताए ।

उनले भने, 'छानबिनका क्रममा आन्दोलनरत शिक्षिका कार्यरत विद्यालयहरूमा तीन/तीन पटक नियुक्त पत्रसहितका सम्बन्धित कागजातहरू उपलब्ध गराई दिन ताकेता गर्दा कुनै जवाफ पठाएनन् । बाध्य भएर जिल्ला शिक्षा विकास तथा समन्वय इकाई धनुषामा कार्यरत बाल विकास सहयोगी कार्यकर्ताहरूको नामावली पठाएर छानबिन गरी पत्राचार गर्दा त्यहाँबाट असार ७ गते नै छानबिन भएर कारबाही गर्न आएको विवरण अनुसार १६ जना गैरकानुनी प्रक्रियाबाट नियुक्ति पाएको विवरण पठाइयो ।'

उनका अनुसा गैरकानुनी रूपमा नियुक्ति लिएका सहयोगी कार्यकर्ताहरूलाई कोटा र नियुक्ति पत्रको सत्यापन गराई पालिकाको शिक्षा शाखामा पेश गर्न पटकपटक ताकेता गरियाे । जसमा केहीले बुझाएन, बुझाएकाहरूको पनि कागजात नै फर्जी रहेको देखिएपछि चैत २७ गतेबाट कामकाज गर्नबाट रोक लगाइएकाे हाे ।

अधिकांश विद्यालयमा बाल विकास सहयोगी कार्यकर्ता भए पनि बिना कुनै कोटाकै गैरकानुनी नियुक्ति दिइएको पाइएको उनले बताए । उनीहरू मध्ये अधिकांशको कागजात फर्जी रहेको पाइएको नगर शिक्षा समितिका विश्वनाथ यादवले बताएका छन् । उनले भने, 'चिट्ठी बिना नै कोटा दिइएको, कुन संस्थाबाट सिफारिस गरिएको हो, संस्थाको नामै उल्लेख छैन, कुनैमा वडाध्यक्षले छनौट गरेर सिफारिस गरेका छन्, त केहीमा तत्कालीन मेयर उदय बरबरियाबाटै नियुक्ति गरेका छन्, अन्तर्वार्ता नै नदिएको, दिए पनि नतिजा नै प्रकाशन नगरिएको लगायतका समस्याहरू कागजातमा देखिएको छ ।'

यता राजनीतिक प्रतिशोध साध्नकै लागि नगर प्रमुखले आफूहरूलाई हटाएको शिक्षिकाहरूले आरोप लगाएका छन् । उनीहरूले दैनिक नगरपालिका अगाडि नगर प्रमुखविरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् । आन्दोलनरत पक्षको आरोपबारे नगर प्रमुख यादवले आफूले राजनीतिक प्रतिशोध साध्नका लागि नभइ शिक्षामा हुँदै आएको भ्रष्टाचार नियन्त्रणका लागि यस्तो निर्णय गरिएको बताए ।

'नगरपालिकाले आफूहरूको नियुक्तिको पत्र माग गरेको थियो । आफूहरूसँग सक्कल कागजात नरहेकाले फोटोकापी बुझायौँ,’ शिक्षिका संजिलाकुमारी यादवले भनिन्, 'सक्कल कागजात त विद्यालयसँग छ । प्रधानाध्यापकसँग हाम्रो सक्कल कगजात माग गर्नु पर्थ्यो न कि हामीसँग ।'

कारबाहीमा परेका बाल विकास सहयोगी कार्यकर्ताहरूमा चन्दाकुमारी यादव, प्रजिताकुमारी यादव, राधिकाकुमारी यादव, सिताकुमारी महतो, संजिताकुमारी यादव, ममताकुमारी यादव, सुरुचिकुमारी यादव, बिना देवी, गुञ्जादेवी साह, कल्पना कर्ण, अम्बिका यादव, रंजुकुमारी मण्डल, पुष्पा यादव, श्यामा यादव र सबिता यादव रहेकी छिन् । यी मध्ये पुष्पा, श्यामा र सबिताले आफूले पाएको नियुक्तबारे कुनै कागजात नगरपालिकामा अहिलेसम्म बुझाएको छैन ।

यो समस्या पहिलो पटक होइन, यसअघि पनि तत्कालीन मेयर बरबरियाको पालामा दुई/दुई पटक तलब भत्ताका लागि उनीहरूले आन्दोलन गरिसकेका छन् । पछिल्लो पटक निर्वाचन अघि जाँदाजाँदै मेयर बरबरियाले चार जना बाल विकास सहयोगी कार्यकर्ता आफ्नै हस्ताक्षरमा नियुक्त गरेको समेत देखिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x