मधेश

मापदण्डविपरीत निर्माणले जानकी मन्दिर विश्व सम्पदा सूचीबाट वञ्चित

सुभाष कर्ण |
बैशाख १, २०८० शुक्रबार २०:३१ बजे

जनकपुरधाम- मापदण्डविपरीत निर्मित संरचनाहरूले जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिर विश्व सम्पदा सूचीकृत हुन नसकेको आरोप लगाइएको छ ।

गौ संरक्षण मञ्च नेपालले मन्दिर नै छोपिने गरी मापदण्डविपरीत निर्माण भएका ठूलठूला भवन र घरसहितका संरचनाले ऐतिहासिक मन्दिरको शोभा र सौन्दर्यतामा मात्र नभइ विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेकाे आरोप लगाउँदै जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएकाे छ ।


मञ्चका अध्यक्ष जगदीश महासेठले तत्कालीन नगरपालिकाको २० औं नगरपरिषदबाट २०७० सालमा जानकी मन्दिर वरिपरि ३१ फिटमाथि अग्ला संरचना निर्माण नगर्न/नगराउन गरिएको निर्णय कार्यान्वयन गराउन मागसहित जनकपुरधाम उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतकहाँ निवेदन दर्ता गराएका छन् ।

अध्यक्ष महासेठले यसरी मापदण्डविपरीत अनधिकृत रूपमा जानकी मन्दिर वरिपरि निर्मित ठूला घरहरूले मन्दिरको सौन्दर्यता र तीर्थालुलाई नकारात्मक असर मात्र पारेको होइन यसले गर्दा विश्व सम्पदा सूचीमा समेत सूचीकृत हुनबाट वञ्चित हुँदै आएको आरोप लगाए ।

उनले इकागजसँग भने, ‘विगतमा तत्कालीन जनकपुर नगरपालिकाले मन्दिर वरिपरि ३१ फिटभन्दा बढी उचाइका घर निर्माण गर्न नसक्ने मापदण्ड बनाएको थियो । तर, नगरपालिकाकै कर्मचारीहरूको मिलोमतोमा आर्थिक चलखेल गरी ५०/५५ फिटसम्मका घर निर्माणको नक्सा पास गरी घर तथा भवनहरू बनाइयाे र बनाउने क्रम जारी रहेको छ ।’

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने मन्दिरको संरक्षण र सौन्दर्यता कायम राख्न यहाँका उपमहानगरपालिका र प्रदेश सरकारको प्रमुख जिम्मेवारी रहेको बताए । तर ‘उपमहानगरपालिकाबाटै ठूलठूला भवन निर्माणको स्वीकृति दिइएको र दिने क्रम पनि जारी रहेकाले सम्बन्धित निकाय गैरजिम्मेवार रहेकाे उनकाे ठहर छ ।

जानकी मन्दिरको दक्षिणतिर गायत्री कुञ्ज, उत्तरतिर सुखसागर लज र पूर्वतिर हंसराज मिठाई पसल र भिवान होटेलसहित मन्दिरभन्दा बढी उचाइमा होटलहरू सञ्चालनमा छन् भने दर्जनौँ आवासीय र व्यावसायिक भवनहरू ठड्याइएको छ ।​

निर्णयकाे बेवास्ता

तात्कालीन नगरपालिकाको २० औं परिषदबाट भएको निर्णय कार्यान्वयनका लागि दुई वर्षपछि उपमहानगरपालिकाले मन्दिर वरिपरि ३१ फिटभन्दा माथिका घर तथा भवनहरूको नक्सा तथा म्याद थप नगर्ने र मापदण्डविपरीतका घर तथा भवनहरू भत्काउने कारबाहीसहित सार्वजनिक सूचना नै पटक-पटक जारी भयाे । उपमहानगरका कर्मचारीकै आर्थिक मिलामताेमा दर्जनौँ नक्सा पास भई ठूलठूला घर तथा भवन बनेरर ती सूचना कार्यान्वयन आउन सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले सोही वर्ष ३ महिनापछि जनकपुरधाम उपमहानगरपालिकालाई जानकी मन्दिर वरिपरि ३१ फिटभन्दा माथि मापदण्डविपरीतका १० वटा घर भत्काउनेसहित आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । तर, सो निर्देशनपनि कार्यान्वयन नभइ थन्किएको छ ।

प्रधानमन्त्री कार्यालय समेतले सोही वर्ष जेठ महिनामा मन्दिरको अस्तित्व बचाउन तत्कालीन नगरपालिकाले २० औं परिषदबाट गरेको निर्णय कार्यान्वयन गराउन संघीय मामिला तथा विकास मन्त्रालयलाई समेत निर्देशन दिएका थिए । त्यो निर्देशन पनि आजसम्म पुरा नसक्नु दु:खद कुरा रहेको अध्यक्ष महासेठको गुनासो छ । 

यस्ताे थियाे मापदण्ड

उक्त मापदण्ड अनुसार जानकी मन्दिरको वरिपरि १२ विघा रंगभूमि मैदानदेखि दक्षिणतर्फ दशरथ मन्दिर, रामजानकी पेठिया बजार, महाविर चाेक, भैरव चाेक, राम चाेक, जनक चाेक, शिव चाेक, गंगासागर मार्ग, धनुषा पथ, दूरसंचारको उत्तरतर्फको बाटो हुँदै अस्पतालको पश्चिम उत्तर कुना तर्फबाट दक्षिण नयाँ निर्माण भएको सडक हुँदै अस्पताल सडकसम्मको क्षेत्रभित्र ३१ फिट उचाइसम्म मात्र भवनको नक्सा पास गरिने तथा नक्सा पासको प्रक्रियामा रहेका नक्साहरूलाई समेत ३१ फिट उचाइसम्मको इजाजत दिइने कानुन छ ।

उपमहानगरपालिका कार्यालयले जानकी मन्दिर वरपरको निर्धारण गरेको ४ किल्ला अन्तरगत अस्पताल रोड, दशरथ तलाउ, पेठिया, महाबीर चाेक, भैरव चाेक, शिव चाेक, जानकी चाेक सबै तर्फ हेर्ने हो भने करिब २ सयभन्दा बढी घर तथा भवनहरू ३१ फिटभन्दा बढी उचाइमा निर्माण भएको तथ्यांक उपमहानगरपालिकाको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x