मधेश

मधेशका २० पालिकाले अझै गराएनन् लेखा परीक्षण

सुभाष कर्ण |
बैशाख ३, २०८० आइतबार १८:४२ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- मधेश प्रदेशका २० वटा पालिकाले अझै लेखा परीक्षण गराउन सकेका छैनन् । प्रदेशका ८ जिल्लामध्ये बाराका मात्र सबै पालिकाले निरन्तर लेखापरीक्षण गराउँदै आएका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा धनुषाको कमला नगरपालिका, धनौजी गाउँपालिका, सप्तरीको छिन्नमस्ता नगरपालिका र रौतहटको वृन्दावन नगरपालिकाले लेखा परीक्षण गराउन सकेका छैनन् । देशका ७ सय ५३ पालिका मध्ये ४ वटाले लेखा परीक्षण गराउन नसकेका पालिकाहरू मधेश प्रदेशकै छन् ।


प्रतिवेदन अनुसार आ.व. ०७३/७४ देखि ०७८/७९ सम्ममा धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका, औरही र धनाैजी गाउँपालिका, महाेतरीकाे सम्सी र पिपरा गाउँपालिका, लाेहरपट्टी र रामगाेपालपुर नगरपालिका, सिरहाकाे नवराजपुर गाउँपालिका, सर्लाहीकाे ब्रम्हपुरी, बसबरिया, विष्णुपुर, धनकाैल, बलरा गाउँपालिका र कविलासी नगरपालिका, सप्तरीकाे छिन्नमस्ता नगरपालिका, पर्साकाे धाेबिनी र ठाेरी गाउँपालिका, राैतहटकाे वृन्दावन, कटहरिया र गढीमाई नगरपालिकाले लेखा परीक्षण गराउन सकेका छैनन् ।

यी मध्ये महाेतरीकाे सम्सी गाउँपालिकाले तीन र सर्लाहीकाे बलरा गाउँपालिकाले दुई आर्थिक वर्षसम्म लेखा परीक्षण गराएका छैनन् ।

यस्तै आर्थिक वर्ष २०७५/७६ को बक्यौता रहेको लेखा परीक्षण जनकपुरधाम उपमहानगरपालिकासहित सर्लाहीको कविलासी नगरपालिका र बसबरिया गाउँपालिका, पर्साको ठोरी गाउँपालिकासहित चार पालिकाले बक्यौता रहेकोमा यो वर्ष पनि लेखा परीक्षण गराएनन् ।

साथै आ.व. २०७७/०७८ को मधेशका ८ वटा पालिकाले लेखा परीक्षण गराउन नसकेकोमा सर्लाहीकाे विष्णुपुर गाउँपालिकाले मात्र गराएकाे छ । बाँकी रहेका सर्लाहीका ब्रम्हपुरी र बलरा गाउँपालिका, महोत्तरीको सम्सी र रामगोपालपुर नगरपालिका, सिरहाको नवराजपुर गाउँपालिका, पर्साको धोबिनी गाउँपालिका र धनुषाको औरही गाउँपालिकाले लेखा परीक्षण गराउन सकेका छैनन् । 

त्यस्तै, सर्लाहीको धनकौल गाउँपालिका, पर्साको पकहामैनपुर गाउँपालिका, रौतहटको कटहरिया र गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बक्यौता लेखा परीक्षण यो वर्ष समेत गराएका छैनन् ।

सर्लाहीको बलरा नगरपालिका र महोत्तरीको सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा स्रेस्ता पेस नगरेका कारण लेखा परीक्षण बक्यौता रहन गएकोमा हालसम्म लेखा परीक्षण गराएका छैनन् ।

उता, महोत्तरीको गौशाला र लोहररपट्टी नगरपालिका तथा पिपरा र सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०७३/७४ को बक्यौता लेखा परीक्षण यो वर्ष पनि गराएनन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x