मधेश

मधेश सरकारको बजेटबाट कांग्रेस पार्टी कार्यालयकाे भवन बन्दै, निधिले शिलान्यास

इकागज |
बैशाख ९, २०८० शनिबार १५:४४ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारको बजेट दुरुपयाेग गरी नेपाली कांग्रेसले धनुषाको पार्टी कार्यालय भवन निर्माण सुरु गरेकाे छ । हाल कार्यालय रहेकै ठाउँमा कांग्रेसबाट मन्त्री बनेका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले चालु आर्थिक वर्ष २०७९/०८० मा  विनियाेजन गरेकाे ४० लाख रुपैयाँबाट भवन निर्माण सुरु गरिएको हाे ।

वर्षौं पहिले कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेकाे उक्त पार्टी कार्यालयकाे नेता विमलेन्द्र निधिले पुनः शिलान्यास गरी निर्माण कार्य अघि बढाएका छन् ।


कांग्रेसबाट मन्त्री भएका मन्त्री यादवले चालु आर्थिक वर्षमा आफ्नाे पार्टीकाे कार्यालयकाे भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट निकासा गरेको कांग्रेस जिल्ला सभापति योगेन्द्र पजियारले पुष्टि गरेका छन् । अध्यक्ष पजियारले भने, 'प्रदेश सरकारमा रहेका हाम्रा पार्टीका मन्त्री सरोज यादवज्यूले पार्टीकाे कार्यालयका लागि छुट्टयाएको ४० लाख रुपैयाँबाट भवन निर्माणको कार्य सुरु गरिएको हो ।'

उनले करिब ६ करोडको लागतमा हल र पदाधिकारीहरूको कक्षसहित अढाई तल्ले भवन निर्माणको कार्य थालिएको बताए । प्रदेश सरकारको बजेट बाहेक पार्टीसहित अन्य श्रोतबाट रकम जुटाएर आफ्नै कार्यकालमा सो भवनको निर्माण सम्पन्न गराउने प्रतिबद्धता समेत गरे । 

उक्त मन्त्रालय मातहत रहेको सहरी विकास तथा भवन निर्माण विभागले कांग्रेस पार्टी कार्यालयको भवन निर्माण गर्न उपभोक्ता समिति बनाएको छ । स्रोतका अनुसार कांग्रेसले आफ्ना कार्यकर्तालाई उपभोक्ता समिति बनाएर कार्य अघि बढाएकाे बताइएकाे छ ।

प्रदेशकाे बजेटबाट कांग्रेसकाे पार्टी कार्यालय भवन निर्माण हुने कार्य प्रति नेकपा एमालेका प्रदेश संसदीय दलका नेता एवं पूर्वमन्त्री सरोज यादवले आपति जनाएका छन् । प्रदेश सरकारको बजेट कुनै दलको पार्टी कार्यालय भवन निर्माण हुनु भनेकाे गलत परिपाटीको सुरुवात भएकाे बताउँदै उनले भने, 'यसले भोलिका दिन जुन पार्टीका मन्त्री बन्नेछ, ती सबैले आआफ्ना पार्टी कार्यालय भवन निर्माण गर्ने परिपाटी बन्न जान्छ ।'

कांग्रेसको याे पहिलो घटना होइन, यस्ता धेरै पार्टीगत कार्य सरकारको बजेटबाट सम्पन्‍न भएकाे उनले दाबी गरे । मन्त्री पदको फाइदा उठाउँदै पार्टी कार्यालयको भवन निर्माण गर्ने कार्यको प्रदेश सभा बैठकमा आवाज उठाउने र ती उक्त बजेट खारेजको माग गर्ने उनले बताए ।


Author

थप समाचार
x