मधेश

टलवीन लाइफ एप्समार्फत अनलाइन ठगीकाे आरोपमा ६ जना पक्राउ

इकागज |
बैशाख १०, २०८० आइतबार १६:५३ बजे

जनकपुरधाम । टलवीन लाईफ अमेरिकी संस्थाको इन्टरनेट ब्राउजर एप्समार्फत ठगी गरेको आरोपमा धनुषा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 
टलवीन लाईफ भन्ने मोबाइल एप्समार्फत अनलाईन ठगी भएको भन्ने उजुरी परेको आधारमा धनुषा प्रहरीले अनुसन्धानको क्रममा जनकनन्दनी गाउँपालिका ३ महुवा टोलबाट चार र जनकपुरधाम उपमहानगरपालिका १२ बाट दुई जनालाई पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेहरुमा जिल्लाको विदेह नगरपालिका १ का संजीव भिनवार यादव, कमला नगरपालिका ३ लग्माका रंजीत नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ का अंदेश महतो, जनकपुरधाम १६ का पप्पु पुर्वे र जनकपुरधाम १२ का उसवान अन्सारी र जिलानी साफी रहेको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए। 


सो टलवीन लाइफ नेटवर्किङ्ग मार्फत पक्राउ परेकाहरुले १ हजार ९१ जनालाई ४ हजार ५ सयको दरले ४९ लाख ९ हजार ५ सय बराबरको ठगी गरेको अनुसन्धानमा खुल्न आएको एसपी खड्काले बताए । उनका अनुसार यो नेटवर्किङ्ग कारोबारमा लागेकाहरुले प्रतिवर्किंग र ननवर्किंग गरी दुईवटा सदस्य बनाउने गर्थे । 

सदस्य बन्न प्रति व्यक्ति ३० डलर लिने र सो बापत वर्किङ्गमा रहनेलाई ५० प्रतिशत कमीशन फिर्ता र एक प्रतिशत रकम प्रति सदस्य बनाएबापत पाउने र ननवर्किङ्गमा जुडनेलाई ३ वर्षमा २ लाख १४ हजार नेपाली रुपैयाँ दिइने भनी कारोबार भइरहेकाे थियाे । 

पक्राउ परेका मध्ये जनकपुरधाम १२ का जिलानी साफीले मात्रै करिब पाँच लाख रुपैयाँ ३-४ वर्षको अवधिमा सो कारोबार मार्फत कमाएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खड्का बताए । उनले भने 'यी अनलाइन ठगी करोबारमा सञ्जाल नै सक्रिय छ, धनुषा बाहेक देशभरको सञ्जालले काम गरिरहेकाले अझै व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।'

 एसपी खड्काले टलवीन लाइफ एप्समा अमेरिकी डलर चाहिए पनि ती एपमै रहेका बिना एप्लीकेशनको माध्यमबाट नेपाली रुपैयाँ अमेरिकी डलर कन्भर्ट गरी सदस्य बनाउने हुने गरेको बताए।  

पक्राउ परेकाहरुको साथबाट प्रहरीले टलवीन लाइफ एप्स भएको ६ थान र फिचर फोन भएको एक थान मोबाइल र नगद २९ हजार ५७६ रुपैयाँ बरामद गरिएको जानकारी समेत उनले दिए ।


Author

थप समाचार
x