मधेश

मधेश प्रदेशको भौतिक मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीले कार्यकक्षमै थुने

इकागज |
बैशाख १३, २०८० बुधबार १८:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- निर्माण व्यवसायीहरूले विभिन्न योजनाहरूको काम सम्पन्न गरे पनि भुक्तानी नगरिएको भन्दै मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । काम गरेको डेढ वर्षपछि पनि भुक्तानीको छाँटकाँट नदेखिएपछि निर्माण व्यवसायीहरूले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरूको विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीहरूले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन् । यसका साथै निर्माण व्यवसायीहरूले सचिवको कार्यकक्ष अगाडि फोहोर समेत थुपारेका छन् ।


गत आर्थिक वर्षहरूमा प्रदेश सरकारको दर्जनौँ विकास निर्माणका काम गरेका उनीहरूले काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकाले बाध्य भएर आज सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए । उनले आफूहरूले काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे ।

बैंकको ब्याज महिनाको ८० हजार तिर्न परिरहेको उनले बताए । उनीहरूको विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरूमा गरेको काम पनि रहेको छ । मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।


Author

थप समाचार
x