मधेश

राजविराज कारागारकाे अतिक्रमित जग्गा १५ दिनमा खाली गराइने

इकागज |
बैशाख २३, २०८० शनिबार १०:५३ बजे

जनकपुरधाम। सप्तरीकाे राजविराजस्थित कारागारका अतिक्रमित जग्गा खाली गराउन १५ दिनको समय दिइएकाे छ । राजविराज ७ स्थित कित्ता नम्बर ४१५ को २ बिघा १३ कट्ठा १९ धुर कारागारको जग्गामध्ये १ बिघा ६ कठ्ठा १२ धुर लामो समयदेखि केही व्यक्तिले घर बनाई अतिक्रमण गरेर बसेका छन् ।

कारागारमा आयोजित सर्वपक्षीय बैठकबाट जग्गा अतिक्रमण गर्नेलाई खाली गर्न १५ दिनको समय दिइने निर्णय गरिएको छ । साे निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले १५ दिनको सूचना जारी गर्नेछ । सूचना अनुसार समयमा जग्गा खाली नगरिए कानुन बमाेजिम कारवाही गरिने समेत निर्णय गरिएको जनाइएकाे छ ।


कारागारको आफ्नै जग्गा हुँदा पनि अतिक्रमण गरिएका कारण थप भवन बनाउन नसक्दा कैदीलाई जग्गा भावमा कोचेर राख्नुपरेको जेलर किशोर रामले बताएका छन् । १५५ जना कैदी राख्ने क्षमता रहेको कारागारमा अहिले ४०६ जना रहेको उनले बताए । क्षमताभन्दा बढी कैदी रहँदा कोचिएर राख्नुपरेको र नुहाउन, शौच गर्न समस्या भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कारागारकाे नाममा रहेको जग्गा अरूले प्रयोग गर्नु गैर कानुनी रहेको बताउँदै खाली गर्नैपर्ने आवश्यकता रहेकाे बताए ।
स्थानीयभन्दा पनि बाहिरका ब्यक्ति आएर जग्गा अतिक्रमण गरेको देखिएकोले कानुन मिच्न कसैले नमिल्ने उनकाे भनाइ छ ।

क्षमता भन्दा तेब्बर कैदीबन्दी भएपछि ठाउँ अभावका कारण अत्यधिक चिसोमा कतिपय कैदीबन्दीलाई टिनको छाना लगाएर भुँइमै न्यानो कपडा राखी सुताउने गरिएको छ । हाल कारागारमा पारालाइसिस रोगले थलिएका ६ जना जेष्ठ नागरिक कैदीबन्दी पनि छन् । उनीहरुलाई चिसोबाट जोगाउन र व्यवस्थापन गर्न समस्या भएपनि उपलब्ध श्रोत साधनले हरसम्भव सहयोग गरिरहेको कारागार प्रशासनले जनाएको छ ।

मुलुककै पुराना कारागार मध्ये एक रहेका यो कारागार राणाकालमै २००८ सालमा निर्माण गरिएकाे हो ।


Author

थप समाचार
x