मधेश

मधेश सरकार परिवर्तनका लागि यादव र ठाकुर जनकपुरधाममा

सुभाष कर्ण |
बैशाख २८, २०८० बिहीबार २१:४२ बजे

जनकपुरधाम- मधेश सरकार परिवर्तनका लागि मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लाेकतान्त्रिक (लाेसपा) का पार्टी अध्यक्ष जनकपुरधाम आएका छन् ।

अन्य ६ प्रदेश सरकार परिवर्तन भए पनि मधेश प्रदेशमा गत वैशाख १० गतेसम्म उपनिर्वाचनका लागि सत्ता गठबन्धन दलले पर्खेका थिए । उपनिर्वाचन सकिएपछि मधेश प्रदेशमा सरकार नेतृत्व परिवर्तन र मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आन्तरिक छलफलमा जुटेका छन् । र, साेही क्रममा छलफलका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लाेसपा अध्यक्ष महन्थ ठाकुर आज जनकपुरधाम आएका हुन् । 


अध्यक्षसहित पार्टीको आन्तरिक बैठक चलिरहेको जसपा एक/एक नेताले बताएका छन् । पार्टीकाे आन्तरिक छलफल पश्चात् अध्यक्ष यादव र ठाकुरबीच सम्भवतः आज राति नै छलफल हुने नभए भोलिसम्म मधेश सरकार परिमार्जनको रुपरेखा तयार हुने बताइएको छ ।

मुख्यमन्त्री यादवलाई राजीनामा दिन लगाएर सरकार पुनर्गठनका लागि बाटो खुल्ला गर्ने समेत एक विकल्पमा कुराकानी भइरहेको स्रोतको दाबी छ । यसैबीच लोसपाका अध्यक्ष ठाकुरले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेशमा सरकार भए लोसपा सरकारमा जाने विषयमा करिब करिब सत्ता गठबन्धनका बीचमा सहमति भइसकेको बताए ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पनि लोसपाका अध्यक्ष ठाकुरले जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपा सरकारमा जाने विषयमा करिब करिब सत्ता गठबन्धनका बीचमा सहमति भइसकेको बताए । छलफलका लागि डा. राउत जनकपुरधाम आइपुगेका छन् ।

एक नेताका अनुसार जसपा नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिने प्रयास गरिने छ नभए मधेशको दोस्रो ठूलो दल कांग्रेसलाई नेतृत्व दिएर लोसपा र जनमतलाई मुख्यमन्त्री बन्न रोक्ने जसपाकाे योजना रहेकाे बताइएकाे छ । यता जनमत आफू बाहेकका दलले मुख्यमन्त्री लिए मधेश सरकार पनि छोडेर संघ र प्रदेश दुवैमा प्रतिपक्षीमा बस्ने तयारीमा रहेको छ ।

जेठ २ गते बोलाइएको मधेश प्रदेश सभाको बैठकमा हाल एमालेबाट सभामुख रहेका रामचन्द्र मण्डललाई समेत हटाउने प्रस्ताव लगिने तयारी भइरहेकाे कांग्रेसका एक प्रदेश सांसदले बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x