मधेश

...अनि चितामा जलिरहेका गुरूसँगै चेलाले गरे आत्मदाह

सुभाष कर्ण |
बैशाख २९, २०८० शुक्रबार १८:२४ बजे

जनकपुरधाम । गुरूको खुशीका लागि चेला (शिष्य)ले ज्यानै दिनेसम्म दिएको घटना हामीले कथा कहानी वा विभिन्न गधर्मग्रन्थहरू पनि सुन्न पाएका छैनौं । द्वापरयुगको महाभारत कालमा एकलव्यले आफ्ना गुरूका लागि औंला काटेर गुरु चेलाबीचको आत्मीय सम्बन्धको घटना सुनेका छौं ।

तर कलीयुगमा यी भन्दा पनि ठूला पत्यार नलाग्ने जस्ता घटना गुरूका लागि आत्मदाह गरेर ज्यान दिनेसम्मको घटना मधेश प्रदेशमा भएको छ । प्रदेशको सिरहा जिल्लास्थित बरियारपट्टी गाउँपालिका सीमावर्ती क्षेत्रमा एक चेलाले आफ्ना गुरूसँगै चितामा आत्मदाह गरेका छन् ।


बरियारपट्टि गाउँपालिका वडा नं. १ गरगम्मा गाउँ र भारत मधुबनी जिल्लाको लक्ष्मिनिया गाउँको बीचमा सीमावर्ती क्षेत्रस्थित त्रिशुला नदी पुल नजिक १ सय १६ वर्षीय तपसी बाबा भनिने बिष्णु बाबाको निधनपछि अन्तिम संस्कारको क्रममा उनको चितामा उनका शिष्य रामचन्द्र महतोले आत्मदाह गरेका हुन् ।

तपसी बाबाले गरगम्मा र बरियारपट्टी वडा नम्बर २ सहित सीमापारी लक्ष्मिनियामा तीन वटा मन्दिर बनाएका थिए । तर उनी लामो समयसम्म गरगम्मा र सीमापारी लक्ष्मिनिया स्थित त्रिशुला नदीको पुल नजिकको मन्दिरमा बसेका थिए । उनले मरणोपरान्त आफ्नो शवलाई लक्ष्मिनिया स्थित त्रिशुला नदी पुल नजिक रहेका मन्दिरकै जग्गामा आफ्नो दाह संस्कार गर्ने भनेका थिए । 

उनको मृत्युपछि उनकै इच्छा अनुसार लक्ष्मिनिया त्रिशुला नदी पुल स्थित मन्दिर नजिक अन्तिम संस्कार गरिरहेको बेला सोही मन्दिरमा तपसी बाबाका चेलाले हाम फालेर आत्मदाह गरेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष साहले बताएका छन् । 

उनले भने ‘बाबाको दाह संस्कार गरगम्मास्थित मन्दिर नजिक नेपाली भूमिमै गर्न सकिन्थ्यो । तर आफ्नो निधनको तीन÷चार दिनअघि प्रिय भक्त मध्येका वडा नम्बर २ का पूर्व अध्यक्ष विजय महतोको घरमा बसेको बेला आफ्नो निधनपछि लक्ष्मिनियामै दाहसंस्कार गर्न भनेका थिए । सोही अनुरुप उनको दाहसंस्कार लक्ष्मिनियास्थित मन्दिर नजिक भइरहेको क्रममा सोही मन्दिरमा लामो समय बिताएका उनका शिष्यले आत्मदाह गरेका हुन् ।’

पूर्व अध्यक्ष महतोले आफू वडाध्यक्ष रहेको बेलामा उनी एकपटक बिमार पर्दा ४/५ लाख रुपैयाँ खर्चेर निको पारेका थिए । ‘त्यसबेलादेखि उहाँ गरगम्मा मन्दिरमा आउँदा अधिकांश समय मेरै घरमा बस्नुहुन्थ्यो, निधनको तीन/चार दिनअघि नै मेरो घरमा आएर बसेका थिए ।’  सोही क्रममा आफू अब नबाँच्ने स्थितिमा आइसकेकाले आफूलाई लक्ष्मिनिया स्थित त्रिशुला नदी पुल नजिक रहेका मन्दिरको जग्गामा दाहसंस्कार गर्न भनेको उनले बताए । सोही अनुसार त्यहाँ दाहंस्कार भइरहेकै बेला उनका चेला भारतको लक्ष्मिनिया नियासी ५५ वर्षिय रामचन्द्र महतोले आत्मदाह गरेका हुन् । बचाउने प्रयास गरे पनि चिताबाट निकाल्दा निकाल्दै उनको शरीरको आधा भाग जलिसकेको कारण बचाउन नसकिएको वडाध्यक्ष महतोले बताए । अन्तिम सँस्कार गर्दैगर्दा उनी चित्तामा हामफालेर देह त्याग गरेको मलामी गएका स्थानीयहरुले बताएका छन् ।  

स्थानीयहरुका अनुसार, तपसी बाबा विष्णुजी महाराज एक त्यागी र शुद्ध सन्यासी बाबा थिए । उनी नेपाल भारतमा दर्जनौ मन्दिरहरु बनाएका थिए भने महायज्ञहरु गरेका थिए । तपसी बाबा १०/१५ वर्ष जनकपुरधाम स्थित विभिन्न मन्दिरमा समय बिताएका थिए ।  लक्ष्मिनिया स्थित तीनवटै मन्दिरमा र गरगम्मामा ४०/५० वर्षसम्म बसेको गाउँपालिका अध्यक्ष सन्तोष महतोले जानकारी दिए । 

गुरुकै चितामा शिष्यले पनि प्राण त्यागेको भिडियो दुई दिनदेखि सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ । यसबारे नेपाल प्रहरीले आफ्नो भूमिको घटना नरहेकाले अनुसन्धान नथालिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले भने निधन भएका साधुको दाहसंस्कार भारतीय भूमिमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटना आफूले सुनेको र सामाजिक सञ्जालमा पनि हेरे तर नेपालको भूमिमा घटना नभएकाले आफूहरुले न अनुसन्धान थालेको न रेकर्ड नै राखिएको बताए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x