मधेश

मेयर कपकाे विजेता टिमले पाएन पुरस्कार राशि

संयोजनकर्ता भन्छन् : आयोजकबाट रकम आउने बित्तिकै भुक्तानी गर्नेछौं

सुभाष कर्ण |
बैशाख ३०, २०८० शनिबार २१:० बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका ‘मेयर कप २०७९’ क्रिकेट प्रतियोगिताका विजेता टिमले अझै पुरस्कार राशि पाउन सकेको छैन । संयोजन समेत रहेका प्रतियोगिता विजेता टिम जिल्ला क्रिकेट संघ धनुषाका खेलाडीहरूले खेल सम्पन्न भएको एक महिना बितिसके पनि आफूहरूले जिते बापतको पुरस्कार राशि पाउन नसकेको गुनासो गरेका हुन् ।

गत वैशाख १ मा जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन श्री रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको प्रतियोगिताको फाइनल खेलमा बारालाई ५ विकेटले पराजित गर्दै धनुषा क्रिकेट टिमले उपाधि जितेको थियो । निर्धारित पुरस्कार बापत विजेता टिमले २ लाख ५१ हजार र उपविजेता बाराले १ लाख ५१ हजार एवम् ट्रफिसहित पाउने थियो । नाम नखोल्ने सर्तमा विजेता टिमका एक खेलाडी भने, ‘आफूहरू पुरस्कार राशि बापतको रकम माग्न जाँदा हरहिसाब फर्छ्याैट नभएको भनी फर्काउने गरेको छ ।’


उनले भने, ‘पुरस्कार राशि बापतको रकम माग्न जाँदा पैसा उठेको छैन, हरहिसाब भएको छैन विभिन्न बहाना बनाएर फर्काउने गरेको हो । पुरस्कारकै लागि आफूहरू बडो उत्साहका साथ प्रतियोगिता खेल्न गएका थियौँ । त्यही रकम पनि समयमै नपाउनु दुःखद हो ।’

प्रतियोगिताका संयोजक सरोज मिश्रले भने, ‘हामीलाई जति रकम आउनुपर्ने थियो, आउन सकेन । पुरस्कारको रकम हामीले कसैको राख्ने छौं, धनुषा क्रिकेट टिम घेरलु टिमसहित संयोजनकर्ता भएकाले हरहिसाब फर्छ्याैट भएपछि रकम दिने भनेका बनाएका छौं । यसलाई इस्यु बनाउनु कुरै छैन ।’

प्रतियोगिताको मुख्य आयोजक जनकपुरधाम उपमहानगरपालिकाले छुट्याएको १५ लाख बजेट मध्ये अहिलेसम्म १२ लाख रुपैयाँ मात्र दिएको र अन्य सहयोगकर्ताहरूबाट दिने भनिएको रकमहरू पनि आउन बाँकी नै रहेकाले रकम आउने बित्तिकै विजेता टिमसहित अन्य बाँकी बक्यौता पनि फर्छ्यौट गर्ने उनले बताए ।

यस्तै जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त (गुड्डू) पाण्डेले सरकारी कामकाजमा ढिलो हुने र आयोजक उपमहानगरलाई खर्च हिसाब दिन बाँकी रहेकाले ३ लाख रुपैयाँ रोकिएको बताए । 'केही ढिला भए पनि हामी चाँडै नै उपमहानगरपालिकालाई खर्च हिसाब बुझाएपछि आउने ३ लाख रुपैयाँसहित अन्य सहयोगकर्ताबाट आउने रकमबाट सबैको लेबी काटेर हरहिसाब फर्छ्यौट गर्नेछौं,' उनले भने ।

यता, नगरप्रमुख मनोजकुमार साहले प्रतियोगिताको विजेता टिमले पुरस्कार रकम नपाएको बारे आफूलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘प्रतियोगिताको संयोजन गरेको जिल्ला क्रिकेट संघ धनुषाको खातामा करिब १२ लाख रुपैयाँँ पठाइसकेको जानकारी दिए । हरहिसाब फर्छ्यौट गरेपछि बाँकी रकम पनि पठाइ दिनेछौं । सोहीबाट विजेता टिमले पनि पुरस्कार राशि बापतको रकम पाउने हो ।'

चैत २३ देखि वैशाख १ गतेसम्म सञ्चालन गरिएको सो प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टिमका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका टिम पनि प्रतियोगितामा सहभागी थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x