मधेश

भूटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको पनि संलग्नता रहेकाे सांकेतिक आराेप

सुभाष कर्ण |
जेठ ३, २०८० बुधबार १९:४४ बजे

जनकपुरधाम। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको समेत संलग्नता रहेको नागरिक समाजका अगुवा नेता रामरिझन यादवले सांकेतिक आरोप लगाएका छन् । बुधबार जनकपुरधाम नागरिक समाज नेपालद्वारा आयोजित संस्थागत भ्रष्टाचार विरुद्ध नागरिक खबरदारी तथा भण्डाफोर कार्यक्रममा नागरिक समाज नेपालका अध्यक्ष समेत रहेका नेता यादवले यस्तो आरोप लगाएका हुन् । 

भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीहरु, उनका छोरा र श्रीमती, पूर्वप्रधानमन्त्रीका श्रीमती मात्र होइन त्यो भन्दा माथिल्लो पदका व्यक्तिहरु पनि पूर्वप्रधानमन्त्रीहरुको समेत रहेको सांकेतिक आरोप लगाउँदै उच्चस्तरीय छानबिन गरी दोषी सबैलाई कानुनको दायरामा ल्याउन माग गरे । उनले त्यसकै दबाव सिर्जना  गर्न नागरिक समाजले संस्थागत भ्रष्टाचार विरुद्धको खबरदारी तथा भण्डाफोर अभियान थालेको बताए । 


नेता यादवले संस्थागत भ्रष्टाचार विरुद्ध प्रदेशका राजधानी जनकपुरधामवासी जाग्न आग्रह गरे । काठमाडौं र विराटनगरमा संस्थागत भ्रष्टाचार विरुद्ध नागरिक समाज एकजुट बढिसकेकाले अब जनकपुरधामवासीलाई पनि लोकतन्त्रको संरक्षणका निम्ति अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । 

उनले भने ‘देशमा मात्र होइन मधेश प्रदेश सरकारमा समेत भ्रष्टाचार व्याप्त रहेको कुरा पछिल्लो पटक ११ करोड रुपैयाँको साइकल घोटाला काण्डले प्रष्ट पारिसकेको अवस्थामा आफ्ना छोराछोरी र श्रीमतीलाई जागिर र केही रुपैया कमाउने लोभलाचमा जनकपुरधामवासी चुप्प बस्नु उचित नरहेकाले भावी सन्ततिका लागि पनि लोभलालच त्यागेर भ्रष्टाचारविरुद्ध अघि बढ्न जरुरी छ ।’ 

कार्यक्रममा उपस्थित प्राध्यापक बालकेश्वर ठाकुरले हामीहरूको भोट लिएर नै पटक पटक पदमा गएर नेताहरुले भ्रष्टाचार गर्दै आएकाले आउँदो निर्वाचनमा साेचेर विवेक प्रयाेग गर्नुपर्ने बताए । 

कार्यक्रममा उपस्थित व्यक्तिहरुले एनसेल काण्ड ६२ अर्ब घोटाला, समानुपातिक निर्वाचनको दुरुपयोग बन्द गर, वाइडवडी काण्ड ४ अर्ब घोटाला, बूढी गण्डकी परियोजना ८ अर्ब घोटाला नारा सहितका प्लकेर्ड टाँगेर प्रदर्शन समेत गरेका थिए । 

नेता रामरिझन यादवको अगुवाईमा संस्थागत भ्रष्टाचार विरुद्ध मधेश प्रदेशमा खबरदारी तथा भण्डाफोर कार्यक्रम अभियान थालिएको छ । सोमबारदेखि शुरु भएको सो अभियान अन्तर्गत पहिलो दिन सप्तरीको राजविराज, दोस्राे दिन सिरहाको लहानमा कार्यक्रममा आयोजना गरिएको थियो भने आज तेस्राे दिन प्रदेशका राजधानी जनकपुरधाममा कार्यक्रम आयोजना गरिएको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x