मधेश

मधेश सरकार : जसपा नेतृत्वलाई यथावत राख्दै आलोपालोको सहमति

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:३० बजे

जनकपुरधाम। मधेस प्रदेशमा वर्तमान मुख्यमन्त्रीलाई यथावत राख्दै आलोपालो नेतृत्वको सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सत्तारूढ दलका शीर्ष नेताहरूसहित प्रदेशका दलीय नेताहरुको सहभागितामा भएको बैठकले वर्तमान जसपा नेतृत्वका सरकारलाई यथावत राख्दै मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो ।


वर्तमान सरकार नेतृत्वलाई यथावत राख्दै आलोपालो नेतृत्व गर्ने सहमति भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले बताएका छन् । उनले भने ‘आफूहरू सरकारमा सहभागी हुने र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो । 

कुन कुन दलले कति समयको नेतृत्व पाउने बारे साहले भने ‘हालका लागि यही सरकारले नेतृत्व गर्ने सहमति भएको हो, तर अर्को कार्यकालको नेतृत्व कुन दलले कति समयका लागि नेतृत्व पाउने र मन्त्रालय भागबण्डाबारे आइतवार जनकपुरधाममा बस्ने प्रादेशिक दलीय नेताहरुबीचको छलफलबाट प्याकेजमा सहमति गरिनेछ ।’

बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) समेत सरकारमा सहभागी हुनेछन् । पाँचदलीय गठबन्धनभन्दा बाहिर रहेका जनमत पार्टीलाई सरकारमा राख्ने नराख्ने बारे साहले हालका लागि जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको बताइएको छ । 

केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कांग्रेसले आलोपालो अन्तर्गत पहिलो चरणमा आफ्नो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएको थियो। कांग्रेसको यो अडानका कारण मधेस प्रदेश सरकार पुनर्गठन हुन सकेको थिएन । यो विवाद मिलाउन प्रधानमन्त्री निवासमा केही दिनदेखि नियमित बैठक बस्दै आएको थियो । 

बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका दलीय नेताको सहभागितामा छलफल भएको थियो ।


Author

थप समाचार
x