मधेश

महिला भएकै कारण पछि पारियाे : प्रदेश सांसद यादव

सुभाष कर्ण |
जेठ ५, २०८० शुक्रबार २१:८ बजे

जनकपुरधाम- पितृसत्तात्मक सोचका कारण महिलाहरूलाई पछि पारिएको मधेश प्रदेश सांसद जीवछी यादवले आरोप लगाइएकी छिन् ।​

मधेश प्रदेश सभाद्वारा जनकपुरधाममा आयोजित प्रभावकारी संसदीय अभ्यास तथा कानुन निर्माणमा प्रदेश सदस्यहरूको भूमिकाबारे अभिमुखीकरण कार्यक्रमको समापनको अवसरमा प्रदेश सांसद यादवले यस्ताे बताइन् । उनले पितृसत्तात्मक सोचका कारण नै आफूहरूलाई आर्थिक र राजनीतिक रूपले पछि पारिएकाले आरक्षित हुनु परेको पनि जिकिर गरिन् ।


उनले भनिन्, ‘आरक्षणबाट ३३ प्रतिशत हाम्रो संख्या प्रतिशत भए पनि हामीलाई राजनीतिक निर्णय तहमा अवसर दिइँदैन । अब हेर्न बाँकी छ प्रदेश सभाको विषयगत समितिको सभापतिहरूमा कति जना महिलालाई राखिन्छ, प्रदेश सरकारमा कति महिलालाई अवसर दिइन्छ ।'

सांसद यादवले प्रदेश सभामा मात्र नभइ संघीयता अनुसारको तीनवटै तहमा महिलासँग विभेद गरिँदै आएको आरोप समेत लगाउँदै उनले भनिन्, 'अब हामी महिला मौन भएर बस्नेवाला छैनौं । राज्यको हरेक निकाय र अंगमा जनसंख्या अनुपातमा आफ्नो हिस्सेदारी लिनेछौं ।'

कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र ठाकुरले महिलाहरू परम्परागत सोचका कारण पछि पर्न गएको बताए । उनले महिलाभन्दा शक्तिशाली यो संसारमा कोही पनि नभएकाे जिकिर गरे ।

दुई दिने सो अभिमुखीकरण कार्यक्रममा प्रदेश विधेयकदेखि कानुन निर्माणसम्मको प्रक्रियासहित प्रदेशसभा नियमावली, विषयगत समिति, सदनमा सांसदले कस्तो व्यवहार गर्ने, सरकारका कमी कमजोरीबारे सचेत गराउने लगायतका विषय बारे प्रदेश सांसदहरूलाई प्रशिक्षण दिइएको थियो । 

सो कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल, पूर्व संविधान सभा सदस्य विन्दा पाण्डे, पूर्व प्रतिनिधि सभा सदस्य एवं अधिवक्ता मीन विश्वकर्मा र संघीय संसदका पूर्व सचिव ध्रुव घिमिरेले प्रशिक्षण दिएका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x