मधेश

मधेशमा नक्कली नोटको कारोबार बढ्दै

इकागज |
जेठ ७, २०८० आइतबार ११:२९ बजे

फाइल फोटो

जनकपुरधाम - नक्कली नोटको कारोबार घटना मधेश प्रदेशमा बढ्दै गएको छ । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाए अनुसार चालू आर्थिक वर्षको साउनदेखिको फागुन मसान्तसम्म प्रदेशमा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना दर्ता भएको छ । जसमध्ये सबभन्दा बढी रौतहटमा ११, सर्लाहीमा ६, सिरहामा ४, पर्सा र महोत्तरीमा ३–३, बारामा २ र धनुषा तथा सप्तरीमा १–१ वटा घटना रहेको छ भने ती घटनाहरुमा ३५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको  छ ।


गत ९ महिनाको अवधिमै २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ३० लाख ११ हजार ६ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो । सोही आर्थिक वर्षमा प्रहरीले ९७ हजार भारतीय नक्कली नोट पनि बरामद गरेको थियो ।

नक्कली नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ प्रहरी कारबाही प्रक्रिया अघि बढाउने गरेको श्रेष्ठले बताए । उनले भने गत पांच वर्षयता नक्कली नोटको कारोबार निकै बढेकाले प्रहरी सतर्कता अपनाएको छ ।


Author

थप समाचार
x