भारतीय प्रम मोदीले घोषणा गरेको रकमबाट अन्तर्राष्ट्रिय रंगशाला होइन धर्मशाला पुनः निर्माण गरिने
जनकपुरधाम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि एक सय करोड भारतीय रुपैया सहयोग गर्ने भनिएको रकमले जनकपुरधामस्थित गोपाल धर्मशालाको अत्याधुनिकसहित पुनःनिर्माण गर्ने तयारी अघि बढाइएको छ ।
२०७५ साल २९ गते जनकपुधारमा राजकीय भ्रमण आएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि जगतजननी माता जानकीलाईलाई भेट स्वरुप एक अर्ब भारतीय रुपैया भेट चढाउने घोषणा गरेका थिए । उपमहानगरले नगरभित्रको पोखरी तथा मन्दिर सौन्दर्यकरण, प्रदेश सरकारले जनकपुरधामको चक्रपथ र वृहत्तरले नयाँ चारवटा धर्मशाला निर्माण गर्ने प्रोपजल तयार पारेर भारत सरकारलाई पठाएका थियो ।
यी तीनवटै निकायबीच २÷३ वर्ष विवाद कायम रह्यो । अन्ततः सो विवादका बीच स्थानीय दिनेश पुर्वेले सो रकमको सहयोगले जनकपुरधाममा श्रीरामजानकी अन्तराष्ट्रिय रंगशाला मैदान बनाउने अभियान थाले ।
अभियानी पुर्वेको आग्रहलाई स्वीकार गर्दै भारतीय प्रधानमन्त्री कार्यालय श्रीरामजानकी रंगशाला मैदानमा लगानी गर्ने सहमत पनि भए । सोही अनुसार रंगशाला मैदानको निर्माण कार्यपनि अघि बढाइयो तर हाल आएर सो रकमबाट गोपाल धर्मशालाको स्तरोन्नतिका लागि अत्याधुनिक रुपले पुनः निर्माण प्रक्रिया अघि बढाइपछि जनकपुरधाममा चर्चाको विषय बनेको छ ।
अन्तर्राष्ट्रिय स्तरको रामजानकी अन्तराष्ट्रिय रंगशाला निर्माणमा सो रकम प्रयोग गर्ने मधेसका मुख्यमन्त्री सरोजकुमार यादव र जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साहले प्रतिवद्धता समेत जनाएका थिए । त्यसको तयारी स्वरुप केही दिन अघि मेयर क्रिकेट कप सम्पन्न भएको थियो भने तीन दिन अगाडि मात्रै सुरु भएको महेन्द्रनारायण निधि टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले समेतले सो रकम रंगशाला निर्माणमै लगानी गर्न भारत सरकारसँग आग्रह गर्ने बताएका थिए ।
९७ वर्ष अगाडि वि.सं.१९८३ सालमा राममन्दिरको छेउमै भारतीय दाता कलाकत्ताका रामबहादुर बलदेव दास रामेश्वर नाथानीले गोपाल धर्मशालाको निर्माण गरिएको थियो । भारतीय दाताबाट निर्मित सो धर्मशालाको भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको रकमबाट धर्मशालालाई अत्याधुनिक बनाउनमा खर्च गर्नेगरी योजना भारतीय दूतावासले अगाडि सारेको छ । त्यसका लागि दूतावासले प्रपोजलका साथै नाप नक्सा समेत तयार पारिसकेको बुझिएको छ ।
सो नक्सा डेढ वर्ष अगाडि सन् २०२१ नै तयार पारिए पनि अहिलेसम्म सामञ्जस्यता अभावमा काम अगाडि बढ्न सकेको छैन । यद्यपि दूतावासले आफैँ अग्रसरता लिएर सरकारी स्तरमा समेत कुरा अगाडि बढाएको श्रोतले जनाएको छ ।
तयार पारिएको नक्साका अनुसार धर्मशालामा ४ वटा ब्लक निर्माण गरिने छ । पहिलो ब्लकमा पसल तथा व्यापारिक प्रतिष्ठानहरुलाई व्यवस्थापन गरिनेछ । दोस्रो ब्लकमा अत्याधुनिक धर्मशाला, तेस्रो ब्लकमा स्वयम्वर हल र चौथो ब्लकमा मिथिला सांस्कृति संग्रहालय बनाउने लक्ष्य राखिएको छ । यसका साथै २ सयभन्दा बढी सवारी साधन पार्क हुन सक्ने गरी बेसमेन्टको समेत निर्माण गरिने लक्ष्य राखिएको हो ।
गोपाल धर्मशाला संचालक समितिका उपाध्यक्ष निर्मल चौधरीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले घोसणा गरेको सो रकमको विषयमा यहाँ अन्यौलता बढेपछि दूतावास आफैले यो विषयमा अग्रसरता लिएको र हामीले त्यो रकमको सदुपयोग होस भन्ने अभिप्रायले गोपाल धर्मशालाको अत्याधुनिक रुपले पुनः निर्माण गर्ने तदारुकता देखाएको बताए ।
उनका अनु्सार भारतीय दूतावासका प्रतिनिधिहरु जनकपुरधाम आएर मणिमण्डप, धनुषाधाम, गोपाल धर्मशाला भ्रमण गरेर गोपाल धर्मशालामा लागनी गर्न इच्छुक भएको उनले बताए । उनका अनुसार पुनः निर्माण गरिने धर्मशालामा ५ सयभन्दा बढी कोठा रहने चौधरीले बताए । २ बिघा १९ कठा १० धुर १ कनमामा फैलिएको अहिलेको गोपाल धर्मशाला समेत भारतीय दाता नथानीले नै सय वर्ष अगाडि निर्माण गराएका थिए ।
गोपाल धर्मशालालाई अत्याधुनिक धर्मशालाको रुपमा परिणत गर्न डेढ सय करोड खर्च अनुमान गरिएको र अपुग हुने रकम समेत भारत सरकारले ब्यहोर्ने बताइएको छ । भारतीय स्वामित्वमै रहेको सो धर्मशालाको स्तरोन्नत्तिपछि स्वामित्वलाई लिएर विवाद हुन सक्ने विषयमा समितिका उपाध्यक्ष चौधरीले यस विषयमा दूतावासलाई नै कुनै ठोस निष्कर्षमा पुग्न सुझाएको बताए ।
स्वामित्वमा द्विविधा
हालसम्म भारतीय स्वामित्वमा रहेका सो धर्मशालाको अत्याधुनिक रुपले पुनः निर्माण भएपछि त्यसको स्वामित्व नेपाल सरकारको वा भारत सरकारको हुने बारे द्विविधा रहेको छ । उनले भने ‘धर्मशाला नेपाली भूमिमा रहे पनि स्वामित्व अहिले पनि भारतीय व्यक्तिकै हातमा छ, निर्माण गर्न लागिएको धर्मशालामा पनि भारतीय पक्षकै लगानी रहेकाले अब स्वामित्व कसको रहने बारे निर्णय भएको छैन । यो अडचन फुकाउन यी दुवै पक्षबिीको छलफलले नै सहज हुने भएकाले सुझाव दिएको छु ।’
सुुरुदेखि नै सो धर्मशालाको रेखदेख र आम्दानी नाथानी ट्रष्टले लिंदै आएका छन् । हाल पनि नथानी ट्रस्टद्वारा नियुक्त म्यानेजरको रुपमा भारतीय नागरिकले नै गर्दै आएका छन् । दुई तल्ले धर्मशालाको पहिलो तल्लामा १९ वटा र दोस्रोमा सभाकक्ष, बैठक कक्ष र अन्य गरि १० वटा कोठाहरु र तीन तिर खाली जग्गा पसलका लागि भाडामा लगाएर नथानी ट्रस्टका म्यानेजरले रकम उठाउंदै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया