मधेश

शंकाको सुविधामा मधेश सरकारलाई विश्वासको मत दिएका हौं : भट्टराई

इकागज |
असार १, २०८० शुक्रबार १०:५६ बजे

जनकपुरधाम । नेकपा एमालेका मधेस प्रदेश ईन्चार्ज योगेश भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन् । 
मधेस प्रदेशको ईन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक जनकपुरधाम पुगेका भट्टराईले शुक्रबार प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए।

पत्रकारहरुले एमालेले बजेटमा योजना बाँडफाँट सशर्त सहित मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको उठाएको प्रश्नमा उनले सशर्त होइन शंकाको सुविधा दिएर विश्वासको मत दिएकाे बताए । 


मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय सूचकांकमा सबैभन्दा पछाडि परेको प्रदेश रहेकाले यहाँ विकासको खाँचो रहेकाले प्रदेश सरकारलाई सहयोग गर्न एमाले तयार रहेको बताउँदै प्रदेशको विकास र समृद्धिका लागि समेत विश्वासको मत दिएको उनले भने । 

नागरिकताको प्रसंगमा इन्चार्ज भट्टराईले हरेक नेपाली नागरिकले नागरिकता पाउन भन्ने पक्षमा एमाले रहेको सुनाए । तर सरकारले जुन प्रक्रियाबाट नागरिकता ल्यायो त्यो गलत हो, र राष्ट्रपतिको कदम समेत गलत रहेकाले आफू विरोध गरेका उनकाे भनाइ छ । 

अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको प्रक्रिया गलत हो भने तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नागरिकता विधेयक अड्काएर राख्नु कतिको उचित भन्ने पत्रकारहरुको जिज्ञासामा उनले तत्कालीन राष्ट्रपति भण्डारीले गलत गर्यो कि सही त्यो मुद्दा विचाराधीन अवस्थामा छ, अदालतले निर्णय गर्ने हो । तर अहिलेका राष्ट्रपतिले गरेको प्रमाणीकरण संवैधानिक रुपले गलत हो । 

भट्टराईले नागरिकता समस्या समाधान गर्नका लागि फेरी नयाँ विधेयक नै ल्याउनु पर्ने स्पष्ट पार्दै भने ‘नागरिकतामा प्रादेशिक पहिचान खोल्ने सहितका वैवाहिक अंगीकृत नागरिकता पाउनका लागि केही समयावधि तोक्नै पर्ने हाम्रो स्पष्ट माग छ ।’

एक अर्को प्रसंगमा भट्टराईले सरकारले केही व्यापारिक घरानाको इसारामा बजेट ल्याइएको आरोप समेत लगाउनु लगाएका छन् । खास केही पूँजीपतिहरुलाई फाइदा पुर्याउनकै लागि राजश्व र करको दायरामा हेरफेर गरिएको भट्टराईको आरोप थियो ।


Author

थप समाचार
x