मधेश

दाइजो प्रथा उन्मुलन गर्ने मटिहानी नगरपालिकाको घोषणा

इकागज |
असार ८, २०८० शुक्रबार २०:५६ बजे

महोत्तरी- एक अध्ययन अनुसार महोत्तरीमा महिलाहरूको कूल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ ।​

निक्कै विकराल समस्याका रूपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेका बेला मटिहानी नगरपालिकाले भने यसकाे अन्त्यका लागि नीति कार्यक्रम नै बनाएको छ ।


बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्  । बालविवाह तथा दाइजो प्रथाको अन्त्यका लागि यसअघि पनि निकै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिक रूपमा नै बालविवाह तथा दाइजो प्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ ।​

दाइजो प्रथा जस्तो कुप्रथाको अन्त्यका लागि स्थानीय सरकारलाई ठूलो चुनौती बनिरहेका बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यति बेला सर्वत्र चर्चाको विषय बनेको छ  ।​

नगरसभामा प्रमुख अथितिका रूपमा सहभागी भएका महोत्तरी क्षेत्र न.२ का निर्वाचित संघीय संसद तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी भएको बताए ।

कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको मन्त्री भण्डारीले आफ्नो धारणा राखे ।

'पहिचानको विकास मुख्य विकास हो । हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,' उनले भने, 'मटिहानीका नगरप्रमुखले यसलाई कायम राखेका छन् ।'

बालविवाह तथा दाइजो प्रथालाई निरूत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामूहिक सम्मान समेत गरेको थियो । विशाल बस्नेत/न्युज कारखाना

 


Author

थप समाचार
x