मधेश

अक्सिजनको अभावले सप्तरी अस्पतालका स्वास्थ्यकर्मी चिन्तित

इकागज |
जेठ ४, २०७८ मंगलबार ७:५९ बजे

सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ-आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन् । 

उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि तनावमा आएका डा झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारीे, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गरेका हुन् । 


अस्पतालका सिलिण्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा झाले बताए । अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन् । तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन् ।

बाँकी रहेका सिलिण्डरबाट अन्य सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै सङक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गरे । अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली अक्सिजन सिलिण्डर लाममा बसेको छ ।

अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६÷१६ जना कोरोना सङ्क्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । 

अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा झाले आजसम्म अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाम लागेको भन्दै वैकिल्पक उपाय खोजेर पनि आजसम्म अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताए । रासस 


Author

थप समाचार
x