मधेश

बालविवाह र दाइजोप्रथा उन्मुलन गर्ने मटिहानीकाे घाेषणा

इकागज |
असार ९, २०८० शनिबार १२:१७ बजे

महोत्तरी। एक अध्ययन अनुसार महोत्तरीमा महिलाहरूको कुल मृत्युदरमध्ये झण्डै ३० प्रतिशत मृत्यु दाइजो कै कारण हुने गरेको पाइएको छ । निक्कै विकराल समस्याकोरुपमा जकडिएको दाइजो प्रथालाई उन्मुलन गर्न स्थानीय सरकारले समेत अग्रसरता नदेखाइरहेको बेला मटिहानी नगरपालिकाले भने यस्को अन्त्यको लागी नीति कार्यक्रम नै बनाएको छ ।

बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्  ।


बालविवाह तथा दाइजो प्रथाको अन्त्यका लागि यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै बालविवाह तथा दाइजोप्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ ।

दाइजोप्रथा जस्तो कुप्रथाको अन्त्यका लागि स्थानीय सरकारलाई ठूलो चुनौती बनिरहेको बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ  ।

नगरसभामा सहभागी भएका महोत्तरी क्षेत्र न.२ का निर्वाचित संघीय संसद तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले नगरप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी भएको बताए ।

कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले  मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको मन्त्री भण्डारीले आफ्नो धारणा राखे ।

'पहिचानको विकास मुख्य विकास हो । हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,' उन्ले भने, 'मटिहानीका नगरप्रमुखले यस्लाइ कायम राखेका छन ।'

बालविवाह तथा दाइजो प्रथालाई निरुत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामूहिक सम्मान समेत गरेको थियो ।

 

 


Author

थप समाचार
x