मधेश

कोभिडले सप्तकोशी नगरपालिकाकी उपमेयर चौधरीको मृत्यु

इकागज |
जेठ ४, २०७८ मंगलबार १०:१८ बजे

राजविराज : सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपमेयर आशा चौधरीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए । 

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।  त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।


गर्भवतीसमेत रहनुभएकी उहाँलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उहाँको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उहाँलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  । रासस
 


Author

थप समाचार
x