मधेश

मन्त्री यादवको नेतृत्वमा अक्‍सिजन व्यवस्थापन समिति गठन

इकागज |
जेठ ४, २०७८ मंगलबार १८:१३ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमितहरूको उपचारमा अक्‍सिजनको कमी हुन नदिन प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानून मन्‍त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा 'अक्सिजन अनुगमन-व्यवस्थापन समिति' गठन गरेको छ । मंगलबार सम्पन्न प्रादेशिक कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले यादवको नेतृत्वमा अक्‍सिजन व्यवस्थापन समिति गठन गरेको हो ।

पछिल्लो समयमा अक्सिजनमा कालोबजारी हुन थालेको व्यापक गुनासो आउन थालेपछि त्यसको व्यवस्थापन र आपूर्तिका लागि सुरक्षा निकायका प्रमुखहरूसहितको सहभागितामा समिति बनाइएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले जानकारी दिए। समितिले प्रदेशभित्रका अक्सीजन उद्योगहरूबाट दैनिक उत्पादन हुने ग्यासको संख्या र वितरण प्रणालीको अनुगमन गर्नेछ । अस्पतालहरूमा अक्‍सिजनको सहज आपूर्तिका लागि अन्य प्रदेशसँग समन्वय र संघीय सरकारसँग आवश्यक सहयोगका लागि पहल गर्ने मन्त्री यादवले बताए ।


मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पीसीसीएमसीको बैठकबाट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा कोरोना संक्रमितहरू उपचाररत सरकारी तथा निजी अस्पतालहरूको अनुगमनका लागि विज्ञ समूह गठन समेत गरिएको उनले बताए । समितिले अस्पतालहरूको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरूलाई दिनुपर्ने आवश्यक सुविधाका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ । आवश्यकता अनुसार निजी अस्पतालमा संक्रमितको उपचारको व्यवस्था मिलाउनका आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने अधिकार दिइएको छ ।


Author

थप समाचार
x