मधेश

जानकी मन्दिरको पर्खाल भत्काइयो

खानेपानी बोरिङ जडानका लागि मन्दिरको सहमतिमा भत्काईएको दाबी

इकागज |
असार २८, २०८० बिहीबार १४:६ बजे

जनकपुरधाम। खानेपानीको बोरिङ्ग जडान नाममा विश्व सम्पदाको सूचीमा सूचीकृत हुने पर्खाइमा रहेको जनकपुधारमस्थित विश्वप्रसिद्ध जानकी मन्दिरको पर्खाल भत्काइएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासकै आदेशमा सो मन्दिर अन्तर्गत सँगै टाँसिएर रहेका विवाह मण्डपको पर्खाल खानेपानी संस्थानद्वारा भत्काइएको हो । जानकी मन्दिरको पर्खाल भत्काएर मन्दिरको अस्मिता प्रहार गर्दै मौलिकतामा असर पार्न खोजिएको भन्दै विरोधमा स्थानीयवासी उत्रेका छन् ।


गएको सोमबार सांझ साढे ८ बजेतिर खानेपानी संस्थानको बोरिङ्ग जडानका लागि डोजरले मन्दिरको पर्खाल भत्काएपछि स्थानीय युवाहरु विरोध प्रदर्शनमा उत्रेका थिए । स्थानीय युवा अभियन्ता सुशिल कर्णले खस मानसिकता बोकेकाहरु जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा जानबाट विभिन्न बहाना बनाएर अवरोध गर्दै आइरहेको अवस्थामा खानेपानीको बोरिङ जडानको नाममा पर्खाल नै भत्काइएको छ ।

मन्दिर विश्व सम्पदा सूचीमा गएपछि ट्रष्ट मातहतमा जानेछ । मन्दिर ट्रष्टमा गइसकेपछि आफ्नो महन्थीय पद गुम्ने डरले मन्दिरका संरक्षक समेतको रुपमा रहेका महन्थ रामतपेश्वर दास वैष्णवले विभिन्न क्रियाकलाप गर्दै आएका छन् । जसको उदाहरण मन्दिरसँगै टाँसिएर रहेका विवाह मण्डपको पर्खाल खानेपानीको बोरिङ जडानको बहानामा भत्काइएको छ । 

महन्थले मन्दिरमाथि पछिल्ला बक्यौता रहेका खानेपानी महसूल मिनहा र अब खर्च हुने पानीको महसूल नतिर्ने शर्तमा मन्दिरको मूल अंश रहेको विवाह मण्डपको जग्गा नै बचेको उनले आरोप लगाए । विवाह मण्डपको पर्खाल भत्काउँदा सो क्षेत्रका स्थानीय मन्दिरको मौलिकता मेटाउन लागेको भन्दै आक्रोशित भएका छन् । उनीहरुले मन्दिरको संरचना भत्काउन पाइदैन भनी विरोध जनाइरहेका छन ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका समेतले विश्व सम्पदा सूचीमा सूचीकृतको क्रममा रहेको जानकी मन्दिरसँगै जोडिएको विवाह मण्डपको हाताभित्र रहेका खानेपानीका लागि कुनैपनि निर्माण कार्य र संरुचना निर्माण गर्दा कार्यालयबाट अनुमति लिएर मात्रै गर्नुपर्नेमा मन्दिरमा असर पर्ने गरी खानेपानीको बोरिङ्ग जडान गर्ने कार्य गलत रहेको ठहर गर्दै सो निर्माण रोक्न भनी खानेपानी संस्थानलाई पत्राचार गरेका छन् ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीद्वारा हस्ताक्षरित सो परिपत्रमा बोरिङ जडान अविलम्ब रोक्ने सहित कसको अधिकार प्रयोग गरी मन्दिरमा बोरिङ जडान गर्न लागिएको हो सोको अधिकारिक पत्र र निर्माण सम्बन्धित विस्तृत योजना सम्बन्धी कागजागत लिएर २४ घण्टा भित्र उपस्थित हुन निर्देशन दिइएको छ । उपमहानगरपालिकाको परिपत्रपछि सो बोरिङ निर्माण कार्य अहिले रोकिएको छ ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन करीब २५ वर्षदेखि प्रयास भइरहेको वृहत्तर, तात्कालिन नगरपालिका र प्रदेश सरकारद्वारा कयौं पटक प्रहार भइसकेको छ । अहिले आएर खानेपानी संस्थानले मन्दिरको अस्मितामाथि असर पार्ने गरी विवाह मण्डपको पर्खाल नै भत्काइएको छ ।

यता खानेपानी संस्थान जनकपुरधामले मन्दिरको मौलिकतामाथि असर पर्ने गरी आफूहरुले कुनै संरचना नभत्काएको दाबी गरेका छन । संस्थान कार्यालय जनकपुरधामका अधिकृत सुधिर सिंहले जानकी मन्दिरको महन्थको आग्रहमा होइन संस्थानकै आग्रहमा सेवाग्राहीको सुविधाका लागि महन्थले बोरिङ जडानको स्वीकृत दिएको आधारमा जडान गर्न लागिएको थियो बताएका छन् ।

हाल अरगजा पोखरीको डिलमा रहेको संस्थानको पानी टयाँकीका लागि रहेका तीनवटा बोरिङ मध्ये दुईवटा पहिला नै पानी नआउने गरी खराब भइसकेको छ । बाँकी रहेका एउटा बोरिङ पनि अन्तिम अवस्थामा रहेकाले खानेपानी सेवाग्राहीलाई समस्या हुने सक्ने अवस्थामा पुगेपछि नयाँ बोरिङ जडानका लागि मन्दिरका महन्थलाई निकै आग्रहपछि स्वीकृत दिएका थिए । तर अब उपमहानगरपालिकाको परिपत्रपछि सो जडान कार्य रोकिन्न गएको छ ।

मन्दिरमा खानेपानी ट्यांकी नै जडान हुन लागेको स्थानीयको आरोप बारे सिंहले भने 'त्यहाँ हामीले टयाँकी होइन बोरिङ मात्रै निर्माण जडान गर्न लागेका थियौं । सो बोरिङको कनेक्सन अरगजा पोखरी स्थित ट्याँकीमा गर्ने योजना रहेको थियो । जहाँसम्म सो बोरिङ जडान भएपछि सो क्षेत्र वरिपरिको चापाकल सुक्ने कुरा छ त्यो निराधार हो । चापाकलको पानी बोरिङ जडानले सुक्दैन पानीको सतही लेयर सुकेर रिचार्ज नभएपछि यस्ता समस्या आउँछ ।'  

विगतमा वृहत्तरले विश्व सम्पदा सूचीका लागि प्रयास गर्दा जनकपुर नगरपालिकाले २ सय मिटर दूरी क्षेत्रफल खाली नगराई सहयोग गरेन । पछि वृहत्तरबाट करोडौ रुपैयको कमाउने लालचमा विद्यूतिय जडानको नाममा मन्दिरको पर्खाल तथा भित्ताहरुमा तोडफोड गरियो । सोही क्रममा मधेश सरकारले सौन्दर्यकरणको नाममा मन्दिर परिसरको पुरानो संरचना हटाएर टाइल्स मार्बल नै लगाए ।

विश्व सम्पदा सूचीकृत हुन पुरानो संरचनामा असर पर्ने गरी कुनै पनि निर्माण गर्न पाउने छैन । सूचीकृत हुने धरोहरको संरचनाको मौलिकतामा कुनै असर नपर्ने गरी बचाएर राख्नुपर्ने हुन्छ । तर जानकी मन्दिरको मौलिकतामा असर पर्ने गरी पटक पटक पूरानो संरचना भत्काएर नयाँ संरचना निर्माण गर्ने कार्य महन्थको सहमतिमा हुँदै आएको छ ।


Author

थप समाचार
x