मधेश

लम्पी स्किनका कारण मधेश प्रदेशमा २ हजार २५ पशुकाे मृत्यु

इकागज |
साउन १५, २०८० सोमबार १९:१० बजे

काठमाडौँ- लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी गाईवस्तुसहितका पशुहरूको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

खडेरीको चपेटामा परेको मधेश प्रदेशको आठ वटै जिल्लामा यस रोगका कारण गाईवस्तुको धेरै क्षति भएपछि किसान मर्कामा परेका छन् । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी १ हजार १ सय १८ गाईभैँसीसहितका पशुको मृत्यु भएको हो भने पर्सामा सबैभन्दा कम दुई पशुको मृत्युसहित मधेश प्रदेशमा हालसम्म यो रोगबाट २ हजार २५ पशुको मृत्यु भएको छ ।


मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत डा. रञ्जितकुमार अधिकारीले मधेश प्रदेशका आठ वटै जिल्लाहरूमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किनविरुद्वको खोप लगाइसकेको जानकारी दिए ।

सोमबार लम्पी स्किन रोगविरुद्वको खोप अभियानलाई जनकपुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेश सरकारले आठ वटै जिल्लामा आठ-आठ हजारको दरले कुल ६४ हजार खोप पठाएको बताए । मन्त्री न्यौपानेले यो समस्या पहिलादेखि नै भए पनि अहिले भयावह भएको बताउँदै यस्ता समस्याहरू दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्ने बताए ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरुको मृत्यु भएको देखिन्छ । मधेश प्रदेशमा मृत्यु भएका २ हजार २५ पशुमा भैँसी/राँगा छन् भने २ हजार १९ वटा गाई/गोरुको मृत्यु भएको छ ।


Author

थप समाचार
x