मधेश

जचुकालिका ४८ ट्रेडमार्क नवीकरणको तयारीमा

इकागज |
साउन ३१, २०८० बुधबार २२:१० बजे

फाइल फोटो

जनकपुरधाम - जनकपुर चुरोट कारखाना लिमिटेडको ४८ वटा ट्रेडमार्क नवीकरण गर्ने तयारीमा सरकार जुटेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जचुकालिको ट्रेडमार्क सुरक्षित गरिदिन भन्दै पत्राचार गरेपछि उद्योग विभागले नवीकरण गर्न लागेको हो । मन्त्रालयले एक महिनाअघि गरेको पत्राचारमा कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । 

विभागको औद्योगिक सम्पत्ति शाखाले जचुकालिको ट्रेडमार्क ४८ वटा उत्पादनको नवीकरण गर्न लागेको जनाइएको छ । मन्त्रालयले चुरोट कारखानाको ट्रेडमार्क सुरक्षित गर्न मन्त्रालयबाट पत्र आएको र यो नवीकरण गर्नका लागि प्रतिट्रेडमार्क एक हजार रुपियाँ लाग्ने विभागका एक कर्मचारीले बताए । उनले भने, ‘जनकपुर चुरोट कारखानाको ४८ वटा ट्रेडमार्क छन् । यी सबै ट्रेडमार्कको सुरक्षा गरिदिनको लागि पत्रमा भनिएको छ ।’


जनकपुर चुरोट कारखानाका उत्पादनहरुमध्ये तत्कालीन समयमा याक ब्राण्डको चुरोट निकै लोकप्रिय थियो । राजा महेन्द्र शाहको कार्यकालको समयमा सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्रीसमेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य सुरू भएको थियो।

विसं. २०२१ पुस २९ देखि संचालनमा जचुकालि ४ करोड ८० लाख ३७ हजारको लागतमा निर्माण भएको थियो । कम्पनी ऐन, २०२१ अन्तर्गत जनकपुरमा स्थापित यो उद्योगमा सरकारको सतप्रतिशत स्वामित्व छ । जचुकालि बन्द हुँदा हजारौंको रोजगार गुमेको थियो ।

तत्कालीन खिलराज रेग्मीको सरकारले २०७० असार २० गतेदेखि कर्मचारीलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो । कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे ७ सय स्थायी र करार र ज्यालादारीमा गरी एक हजारभन्दा कर्मचारी कार्यरत थिए । यद्यपि यहाँको उत्पादन भने २०६८ चैतदेखि नै बन्द भएको हो ।

जनकपुरधामको मिल्स एरियामा ३४ विघा क्षेत्रफलमा रहेको जचूकालीमा कारखानासहित कार्यालय भवनको ठूलो भौतिक संरचनामा हाल प्रदेश सरकारको कार्यालय, मन्त्रालय, मन्त्री निवास सञ्चालनमा रहेको छ । उद्योगभित्रका भवनहरु जीर्ण अवस्थामा छन् । प्रदेश सरकारले ती भवनको मर्मत सम्भार गरी प्रशासनिक कार्यालय राखेका हुन ।

जचूकालीलाई पुनः सञ्चालनमा ल्याउन तत्कालीन समयका कर्मचारीदेखि स्थानीयले पहल गरेपनि सरकार उदासीन देखिएको छ । उद्योग बन्द भएपछि त्यसको जग्गा तथा सम्पत्ति हिनामिना र दुरुपयोग हुँदै आएको छ । हाल जचूकालीमा स्थायी कर्मचारी नरहे पनि उद्योगको सुरक्षाको लागि भन्दै करारमा १३ जना कर्मचारी राखिएको छ । 
उद्योग मन्त्रालयले २०७७ सालमा पूर्वसचिव दीपक सुवेदीको संयोजकमा रुग्ण उद्योगसम्बन्धी अध्ययन समिति गठन गरेको थियो । सो समितिले उद्योगको ट्रेडमार्क बिक्री गरी निजी क्षेत्रलाई बिक्री गरी सञ्चालन गर्न सक्ने विकल्प दिएको छ ।

उद्योग पुनः सञ्चालन गर्ने भन्दै तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले प्रक्रिया थालेका थिए । त्यसपछिका उद्योगमन्त्रीले सोही कुरा बोल्दै आएका छन् । दिलेन्द्रप्रसाद बडूले पनि उद्योग सञ्चालनका निरीक्षण गरे पनि प्रक्रिया अघि बढाएन । अहिलेका उद्योग मन्त्री रमेश रिजालले पनि जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

कारखानाको जनकपुरमा मात्र नभइ नेपालभरि २६ छुट्टाछुट्टै शहरमा जग्गा र दुई ठाउँमा निर्मित कार्यालय भवन प्रयोगविहिन रहेका छन् । बुटवल र नारायणगढमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको भवन हाल प्रयोग विहिन अवस्थामा रहेको छ । धनुषा, महोत्तरी, विराटनगर, उदयपुर, वीरगञ्ज, पोखरा, नारायणघाट, नेपालगञ्ज, सुर्खेत, दिपायल, सिन्धुली, धनगढीमा अहिले पनि कारखानाको अर्बौं मूल्यका जग्गा रहेका छन् । तीमध्ये जग्गा थुप्रै बिक्री भइसकेका छन् भने बाँकी रहेका पनि चौरका रूपमा प्रयोगविहीन छन् ।

‘तत्कालीन तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव उद्योगमन्त्री छँदा कर्मचारीको बक्यौता रकम भुक्तानी गर्नेमा नाममा काठमाडौंको बानेश्वरस्थित अर्बौको जग्गा कौडीको भाउमा बेचेका थिए । कर्मचारीको बक्यौता रकम भुक्तानीको नाममा जग्गा बेचिएपनि अवकाश पाइसकेका अझै ९ सय ६० कर्मचारीको तलब सहित उपदान रकम करिब साढे सात करोड रुपैया कारखानाले भुक्तान गर्न बाँकी छ । त्यसैगरी भारतीय सूर्ति आपूर्तिकर्ता, स्थानीय आपूर्तिकर्ता लगायतलाई करिब १ अर्ब रुपैयाँ तिनु बाँकी रहेको पूर्व कर्मचारीहरुको भनाई छ । 

जनकपुर चुरोट कारखाना बन्द भएपछ हाल देशमा सूर्य नेपाल प्रालिले चुरोटको बजारमा एकलौटी व्यापार गर्दै राम्रो मुनाफा आर्जन गर्दै आएका छन् । निजीस्तरमा संचालित सुर्य नेपाल प्रालि. ले नै ट्रेड युनियन सहित कारखाना भित्र रहेका विभिन्न राजनीतिक भातृ संगठनलाई उचालेर जचुकालि बन्द गराएको आरोप लाग्दै आएको छ ।


Author

थप समाचार
x