स्थानीय तहका कर्मचारीको सरुवा र बढुवाको व्यवस्था गर्न माग
जनकपुरधाम- मधेश प्रदेशस्थित स्थानीय तहका कर्मचारीहरूले समायोजन भएर आएका आफूहरूको सरुवा र बढुवा प्रदेशस्तरबाटै हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।
आइतबार सभामुख रामचन्द्र मण्डललाई ज्ञापन बुझाउँदै समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूले कानुन अभावमा ५ वर्षदेखि सरुवा र बढुवा हुन नसकेकाले स्थानीय तह सम्बन्धी बन्न लागेको कानुनमा व्यवस्था गर्न माग गरेका हुन् ।
प्रदेश सभामा पेस भएका स्थानीय सेवाको गठन, सञ्चालन सेवा र सर्तहरू सम्बन्धी विधेयकमा सरुवा र बढुवासहित संघ तथा प्रदेशमा खुल्ला प्रतिष्पर्धा गर्दा सेवा अवधि जोडिने व्यवस्था र उमेरहद नलाग्ने, कर्मचारीहरूलाई उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था लगायतका कुरा समावेश गरिदिन ज्ञापन पत्र मार्फत कर्मचारीहरूले गरेका छन् ।
कर्मचारीहरूको मागबारे सभामुख मण्डलले प्रदेश सभामा पेस भएको विधेयक छलफलका सम्बन्धित प्रदेश मामिला तथा कानुन समितिमा पठाइसकेको जानकारी दिए । तर, सो समिति सभापतिविहीन भएका कारण अहिलेसम्म छलफल हुन नसकेको उनले बताए ।
समितिका साथै विज्ञहरूसँगको छलफल पनि हुन बाँकी नै रहेकाले आफ्नो राय राख्ने क्रममा यी मागहरूका लागि समन्वय गर्ने प्रतिबद्धता उनले जनाए ।
स्थानीय तहका कर्मचारी मध्येका विक्रम यादवले अन्य प्रदेशले समायोजन भएका स्थानीय तहका कर्मचारीहरूलाई सरुवा र बढुवा गर्दै आएका छन् । तर, मधेश प्रदेशमा कानुन अभाव रहेको भन्दै ५ वर्षदेखि एकै पदमा एकै स्थानमा काम गर्न बाध्य छन् । सरुवा र बढुवा हुन नसक्दा कर्मचारीको काम गर्ने मनोबलमा ठूलो ठेस पुगेको उनीहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया