मधेश

गाई काट्नेलाई कारवाही नगरे आन्दोलनको चेतावनी

इकागज |
भदौ ६, २०८० बुधबार २०:६ बजे

जनकपुरधाम - गाई÷गोरुको हत्या गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधामका साधु सन्तहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

बुधबार तुल्सी जन्मोत्सवको आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाई÷गोरु काटेर मासु खानेलाई नेपाल सरकारले कानुन बमोजिम कडा कारबाही नगरे चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । 


महन्थ दासले भने, 'नेपालमा गाईलाई माता सरह पूज्यनीय छन् । हामी साधुसन्त सहित हिन्दु समाजले गाई÷गोरुलाई माता मानेर पूजा गर्छौ । तर धरानमा केही व्यक्तिहरूले गाई/गोरुलाई काटेर सामूहिक भोज गरे । यसरी गाई÷गोरुलाई काटेर मासु खानेहरुलाई सरकारले कारबाही नगरे अब हामी साधुसन्त समाज र जनकपुरवासी चुप्प बस्नेवाला छैनौ । हामीहरू आन्दोलनमा उत्रनेछौँ र त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुनेछ ।' 

 ‘नेपालको विभिन्न ठाउँमा हिन्दु धर्म प्रतिको ठाँडो हस्तक्षेप स्वरूप गाँईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरूलाई कानुनी कारबाहीको लागि माग गर्दछु,’ उनले भने ।  हिन्दूसहित साधुसन्त समाजले केही गर्न सक्दैन भनेर नबुझ्न र नसोच्न पनि उनले चेतावनी दिए । 

केही दिनअघि धरानमा केही व्यक्तिहरूले गाई÷गोरु काटेर सामूहिक भोजकै आयोजना गरेका थिए । ती सामूहिक भोजको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


Author

थप समाचार
x