मधेश

प्रभातफेरीमा कर्मचारी सहभागी नभएपछि नगरप्रमुख आक्रोशित

इकागज |
असोज ३, २०८० बुधबार १५:१० बजे

महोत्तरी - संविधान दिवसको अवसरमा बुधबार महोत्तरीमा हर्षाेल्लासका साथ स्थानीय तहले प्रभातफेरी कार्यक्रम गरेका छन् नागरिक समाज, संघ संस्थाहरू, राजनीतिक दलहरुलाई सहभागी भएर निकालिएको प्रभातफेरी कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।​

प्रभातफेरीपछि भएको कोणसभामा बोल्दै वक्ताहरूले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउन उक्साउने केही मधेशवादी दलहरूप्रति कटाक्ष समेत गरे ।


‘जनताको हकअधिकार सुनिश्चत गर्नका लागि यही संविधान उत्कृष्ट भएको र संशोधन गरेर पनि थप परिमार्जन गर्न सकिने बाटोहरु खुल्ला छन्,’ उनले भने । संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा विदाका नाममा घरमा नै बस्ने कर्मचारीहरूप्रति नगर प्रमुख क्षेत्रीले असन्तुष्टि समेत व्यक्त गरे । संविधान दिवस मनाउन दिएको विदालाई दुरुपयोग गर्दै घरमा बसेर कार्यक्रममा सहभागी नहुनु दुखद् भएको उनको भनाइ छ ।

आन्दोलन र बलिदानबाट प्राप्त भएको संविधानको रक्षार्थ सबै जना एकजुट हुनुपर्ने उनको भनाइ छ । 


Author

थप समाचार
x