मधेश

'जनक दरबार’ निर्माणमा ढिलाइ, समयमै काम सक्ने ठेकेदारको दाबी

इकागज |
असोज ७, २०८० आइतबार १२:३९ बजे

जनकपुरधाम। पौराणिक मिथिलाका राजा जनक (शिरध्वज) को नगरको राजधानीको रुपमा वर्तमान जनकपुरधाम उल्लेखित छ । जनकपुरधाम मन्दिरै मन्दिर र पोखरी सरोवरले ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यहाँ जानकी मन्दिर सहित त्रेतायुगमा श्रीरामजानकी विवाह भएको मडवा (मण्डप) सहितका दर्जनौ पर्यटकीय स्थलको रुपमा रहेको छ ।
 

जनकपुरधामस्थित पौराणिक अधिकांश मन्दिरहरु सरकार र सरोकारवाको निरिहताले अतिक्रमणमा परी अस्तित्वविहिन नै भइसकेका छन् । केही मन्दिरहरुको अस्तित्व जोगाउन प्रदेश र संघ सरकारद्वारा पुनः निर्माण तथा सौन्दर्यकरण गरिदैछ । यसैक्रममा जनकपुरधाम वडा नम्बर १३ स्थित विवाह मण्डप अर्थात मणि मण्डपको नामले प्रख्यात स्थलको जिर्णोधार काम भइरहेको छ ।


संघीय सरकारको शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागको संघिय आयोजना कार्यान्वयन ईकाई जनकपुरधामद्वारा जिर्णोद्धार भइरहेको मणिमण्डपमा ‘जनक दरबार भवन’ सहित धर्मशाला, मण्डप निर्माण भइरहेको छ  । निर्माण कार्यमा भइरहेको ढिलाई कार्यले स्थानीयवासी असन्तुष्ट देखिएका छन् । 
दोश्रो पटकको ठेक्का सम्झौता मिति समापनको २ महिना बाँकी रहेको अवस्था मुश्किलले ७०/७५ प्रतिशत काम हुन सकेको छ । बाँकी रहेको २५/३० प्रतिशत काम २ महिनाभित्र सम्पन्न हुनेमा स्थानीय र विकास समितिसहित सरोकारवाला समेत विश्वस्त छैनन् । 

प्राचीन श्री सीताराम विवाह मणिमण्डप विकास समितिका अध्यक्ष नारायण राउतले भने–‘३०/३५ वर्षको अथक प्रयासपछि जनक दरबार भवन निर्माणका लागि बजेट निकासा गराई निर्माण कार्य सुुरु गरायौं ।’ तर सम्बन्धि निकाय संघीय आयोजना कार्यान्वयन ईकाइ र निर्माण कम्पनीको कारण निर्माण कार्यमा ढिलाई भइरहेको छ । उनले भने–‘अहिलेसम्म मुश्किलले ७०/७५ प्रतिशत काम मात्र भएको छ ठेक्का सम्झौताको म्याद सकिन मात्र दुई महिना बांकी रहेको अवस्थामा बांकी काम सम्पन्न हुने अवस्था देखिदैन । एक पटक म्याद थप भइसकेको छ, यदि पुनः म्याद थप नगरिए काम अपूरै रहन जानेछ ।’

यता संघीय सरकारको शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागको संघीय आयोजना कार्यान्वयन ईकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले सुरुमा कोरोना र बजेट आभावको कारणले ढिलाई भएको बताए । ‘तर अहिले काम तीव्र गतिमा भइरहेको छ । भवनमा बुटिकको काम भइरहेकाले समय लागि रहेको छ ।’ उनले भने । ठेक्का सम्झौताको अवधिभित्रै निर्माण सम्पन्न गर्नेगरी तयारी भइरेको उनले सुनाए ।

कुल १८ करोड १५ लाख २२ हजार ९ सय ७३ रुपैयामा निर्माण भइरहेको सो जनक दरबारको निर्माण कार्य ५ वर्षअघि थालिएको थियो । तर हालसम्म सम्पन्न हुन सकेको छैन भने तोकिएको म्यादभित्र सम्पन्न हुने छाँटकाँट पनि देखिदैन । सो जनक दरबार भवन निर्माणको लागि ३ वर्षमा सम्पन्न गर्ने गरी २०७५-८-२४ गतेमा काठमाडौस्थित निर्माण कम्पनी रबिना कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।

सो अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा पुनः दुई वर्ष २०८०-८-२२ गतेसम्मका लागि म्याद थप गरियो । तर थपिएको म्याद सकिन दुई महिना मात्र बाँकी रहेको अवस्थामा ८० प्रतिशत काम सम्पन्न भइसकेको संघीय आयोजना कार्यान्वयन ईकाईका साइट इन्जिनीयर श्रवणकुमार यादवले बताएका छन् ।

उनका अनुसार विवाह मण्डपबाट उत्तरतर्फ आकर्षक कलाकृतिसहितका भवनहरू बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने ​विवाहमण्डप स्वरुपको विवाह भवन, स्वयंवर मण्डप, जन्ती ठहरने सुविधा सम्पन्न कोठाहरु निर्माण भइरहेको छ भने यससँगै सोही योजनामा पागला बाबा धर्मशाला, क्षेत्रिय समाज धर्मशाला, हनुमान मन्दिर, चित्रगुप्त सेवा समिति रामजानकी मन्दिरको भवन समेत निर्माण गरिने यादवले जानकारी दिए ।

सुरुमा उक्त संरचना निर्माणका लागि २२ करोड ७७ लाख ९९ हजार रूपैयाँ (भ्याटबाहेक) लाग्ने अनुमान गरिएको थियो । २०७५ साल मसिंर २४ गते ठेक्का सम्झौता भएको आयोजनाको हाल सम्म ७३.७५ प्रतिशत वितियमा ८० प्रतिशत भौतिक कामहरु सम्पन्न भइसकेको सुचना अधिकृत ई. लक्ष्मण यादवले बताए । तोकिएको म्यादको बांकी २ महिनामा निर्माण कार्य सम्पन्न सम्भव छ भन्ने जिज्ञासामा उनले भने सम्भव त छैन, तर हामीले प्रयास गर्ने हो ।

सुचना अधिकृत यादवले थप म्यादमा सम्पन्न नभए पुनः सम्झौता अवधि थप गर्न सकिने अवस्था आउने उनले बताए । उनले भने ‘जानकी मन्दिरकै शैलीमा यी भवनहरूको डोम र गुर्जा बनाउने सम्झौता रहेको र त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनु परेको, कोरोनाको कहर र प्रभाव बिचमै आइपरेको, ६ वटा गुर्जा बनाउन ९ महिना लागेकाले समय लागेको भएपनि हाल धमाधम काम भइरहेको छ । प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङ लगायको काम हुँदैछ । मार्बल लगाइँदै छ । फर्निचर, विद्युत र पेन्टिङको काम भने बाँकी छ ।’

उनका अनुसार आयोजनामा पौरानिकता झल्किने राजर्षि राजा जनकको दुई तल्ले दरबार, २५ वडा बेडरुम, २ वटा डायनिङ्ग हल, बरबधुको विश्रामका लागि १ धर्मशाला, १ वटा स्वयमर मण्डप सहित २ वटा मण्डप र २१ वटा शैचालय सहितको निर्माण भइरहेको छ भने मण्डप छेउ प्रसाद र शृंगारका सामान बेच्न व्यापारिक भवन पनि बनाइदैंछ ।

जनकपुरधामको प्रसिद्व श्री जानकी मन्दिर शैलीमा विभागबाट खटेका विशेषज्ञ आर्कीटेकहरुले डिजाइन गरेको सो विवाह मण्डपमा गुठी संस्थानले भौतिक संरचना निर्माणका लागि साढे चार बिघा जग्गा उपलब्ध गराएको हो । तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकी बिच भएको विवाहको प्रतिक रहेका मणिमण्डप जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो वास्तिविक विवाह मण्डप नजिकै भब्य नयाँ स्वरुपमा निर्माण भइरहेको छ । 


Author

थप समाचार
x