मधेश

राष्ट्रिय एकतामा खलल पुर्याउनेलाई कडा कारबाही गरिने : गृहमन्त्री श्रेष्ठ

इकागज |
असोज १७, २०८० बुधबार २२:२९ बजे

जनकपुरधाम - नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता तथा संविधानको रक्षाका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका छन ।
 
गृह मन्त्रालयद्वारा महोत्तरीको बर्दिबासमा आयोजित मधेश प्रदेश स्तरीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि र विविधता बीचको एकता कायम गर्दै संविधानले अङ्गीकार गरेको मूल्य मान्यताको कार्यान्वयन गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताए । 

उनले विविधता बीचको एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई बलियो बनाएको खण्डमा मुलुक आफै समृद्धिको बाटोमा अग्रसर हुने बताउँदै राष्ट्रिय एकतालाई खलल पुर्याउने र कानूनको खिलाफ जानेमाथि गृहमन्त्रालयले कडा कारबाही गर्नका लागि तयार भएको बताए । 


अहिले जातीय तथा धार्मिक मुद्दाको सृजना गरेर जनताको बलिदानबाट प्राप्त भएको संविधान सहितको परिवर्तनलाई उल्टाउन खोज्ने शक्तिसँग सावधान हुँदै राष्ट्रिय एकता कायम गर्दै परास्त गर्नका लागि सबै दल मिल्नुको कुनै विकल्प नभएको कुरामा उनले जोड समेत दिए । 

गृहमन्त्री श्रेष्ठले राजनीतिक उपलब्धिलाई समाप्त गर्नका लागि भइरहेको षड्यन्त्रको विरुद्धमा परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुको कुनै विकल्प नभएकाले नै प्रदेश स्तरीय सर्वदलीय तथा सर्वपक्षीय बैठक तथा अन्तरक्रिया गर्न लगाएको जानकारी समेत दिए । 

बैठकमा उपस्थित मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शान्ति तथा समृद्धिको बाटोमा मुलुकलाई लानका लागि संविधानले उल्लेख गरेको अधिकारहरू प्रदेशलाई हस्तान्तरण गर्नमा ढिलाइ गर्न नहुने बताए । 

यस्तै प्रदेशका गृह तथा सञ्चारमन्त्री मोहम्मद समीमले प्रहरी तथा निजामती ऐनलाई तत्काल पारित गर्नका लागि आग्रह गर्दै प्रदेशलाई बलियो नबनाएसम्म सघीयताको कुनै अर्थ नरहने बताए ।

विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीहरूको सहभागिता रहेको सो बैठकमा विभिन्न धर्मका धर्मगुरुहरूले अहिले देखिएको समस्या र समाधानको विषयमा ध्यानाकर्षण गराएका थिए । 

प्रदेश स्तरीय सुरक्षा बैठक तथा बृहत् समीक्षामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका ओमप्रकाश जोशीको समेत सहभागिता रहेको थियो ।


Author

थप समाचार
x