मधेश

भोकमरीले ८ जनाको ज्यान गयो

सुभाष कर्ण |
जेठ १५, २०७८ शनिबार ८:३५ बजे

- २०७७ जेठ २ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी थिइन्- ‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो ।'
- २०७७ असोज ३० गते ४० औँ विश्व खाद्य दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- 'नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन ।' 'नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ,' उनले सन्देशमा भनेका थिए, 'उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ।'


राष्ट्रपति भण्डारीले भनेकी त्यो वाक्‍य एक वर्ष पूरा भएर १३ दिन मात्रै बढी भएको छ भने प्रधानमन्त्री ओलीले भनेको ८ महिना पनि पुगेको छैन । कोभिड-१९ का कारण रोजगार गुमाएर कयौँको बेहाल छ । त्यससँगै भोकमरीले पनि अकालमै ज्यान गइरहेको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको क्रममा भोकमरी र उपचार अभावका कारण प्रदेश-२ को धनुषा र सिरहा जिल्लामा गरी ८ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-६ कुचाई टोलस्थित मुसहर वस्तीका ५ जना दलित र सिरहाको कर्जनहा नगरपालिका-५ खोला टोलस्थित मुसहर वस्तीका दुई दलित गरी तीन जनाको मृत्यु भएको हो ।

एक साताभित्र धनुषाको कुचाई टोलमा ६० वर्षीया रामसति सदा, वर्ष ५५ की सुगिया सादा, वर्ष ६० की सीतादेवीसहित दलित समुदायकै एक २१ वर्षीय युवक र ७० वर्षीय वृद्ध रहेको स्थानीय शिक्षक मिनबहादुर तामाङले इकागजलाई बताए । उनले भने 'बिमारीभन्दा खान नपाएर भोकका कारण उनीहरूको मृत्यु हुन गएको हो । मृत्यु हुनेमा राम सति, सुगीयादेवी र सीतादेवी छिमेकी नै हुन । उनीहरूमा सामान्य ज्वरो तथा रुघा लाग्‍ने जस्ता समस्या देखिएको थियो । तर कयौँ दिनदेखि औषधि त के खानसमेत नपाएर भोकले ज्‍यान गुमाए ।'

सो टोलमा अधिकांश दलित समुदायका बसोबास छन् । उनीहरूको जिविकोपार्जन दैनिक मजदुरी हुन् । लकडाउन/निषेधाज्ञा भएपछि काम नपाएर भोकभोकै तिनीहरू घरमै बस्‍न बाध्य थिए । आर्थिक अभावले खान नपाएर बिरामी हुँदा शारिरीक रुपमा झन सिथिल भई मृत्यु भएका थिए ।

सम्बन्धित निकाय नगरपालिकाका मेयर योगी पजियारले घटनाबारे जानकारी नभएको अनभिज्ञता प्रकट गरे । उनले भने 'कुचाई टोल भोकमरी र उपचार अभावमा मृत्यु भएको जानकारी आफू कहाँ आएको छैन ।' लकडाउनले गर्दा कयौंले रोजगार गुमाउँदा भोकभोकै बस्दै आएको भन्‍ने जिज्ञासामा उनले भने 'अहिले तत्काल राहत वितरण गर्न सक्ने अवस्था छैन तर पनि हामीले सबै वडाध्यक्षलाई डाटा संकलन गर्न भनिसकेका छौँ । वडाध्यक्षहरूमार्फत नै सबै वडाका दलित गरीब विपन्‍न वर्गलाई राहत उपलब्ध गराउने तयारीमा लागेको छु ।'

उता सिरहाको करजन्हा खोला टोलमा दलित समुदायका भिखारी सादा, जितन सादा र हिरालाल लामाको भोकमरी र औषधोपचार अभावमा मृत्यु भएको स्थानीय युवा समाजसेवी सिजेन्द्र सादाले बताएका छन् । उनले भने 'एक साताको अन्तरालमा खोला टोलमा लकडाउनका कारण रोजगारी गुमेपछि कयौं खान नपाएर र औषधि उपचार अभावमा एक पहाडी समुदायका व्यक्तिसहित ३ जनाको मृत्यु भएको छ भने रामप्रसाद सादा भन्‍ने व्यक्ति पनि कयौं दिनदेखि बिमार छन्, त्यसको अवस्था पनि गम्भीर नै छ ।'

उनका अनुसार सो वडामा करिब ८०/८५ घरधुरीका ३ सयभन्दा बढी मुसहरका व्यक्तिहरू बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेशा दैनिक मजदुरी गर्ने हो । लकडाउन भएपछि घरबाट बाहिर निस्किन नपाउँदा भोकभोकै घरमा बस्‍ने गरेका छन् । सो टोलका प्रायः जसो दलित एक छाक मात्र खाना खाएर जिविको टार्दै आएका छन् । भोकमरीसँगै अधिकांशमा ज्वरो रुघाखोकीको समस्या देखिएको छ ।  

सिजनले भने 'आफू नगरपालिकाका वडाध्यक्ष र मेयरलाई पटक पटक राहत तथा औषधि उपलब्ध गराई दिन आग्रह गर्दा पनि कुनै चासो नलिएपछि स्थानीय युवाहरूले केही रकम संकलन गरी सो दलित वस्तीमा केही औषधि, मास्क, सेनिटाइजर र राहत सामाग्री उपलब्ध गराएका छौँ ।'

घटना सम्बन्ध नगरपालिकाका मेयर गंगा पासवानले भने 'आफ्नो नगरपालिकाको कुनै पनि वडामा भोकमरी वा उपचार अभावले मृत्यु भएको छैन । सामाजिक सञ्जालमा केही यस्ता कुरा आएको छ म सत्य तथ्य बुझ्दै छु ।'

लकडाउनले रोजगारी गुमाएका दलित, गरीब विपन्‍नलगायतलाई खानाको अभाव भएकोमा राहतको अवस्थाबारे उनले भने 'हाम्रो नगरपालिका ग्रामीण भेग भएको कारण खासै त्यस्तै समस्या छैन तरपनि गरीब विपन्‍न वर्गका लागि राहत वितरण गर्न हामी छलफलमा गरिरहेका छौँ ।' यता प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानून मन्त्री ज्ञानेन्द्र यादवलाई पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x