मधेश

भैरहवा सिमामा रोकिँदैनन् क्यासिनोका भ्यान

इकागज |
असोज २०, २०८० शनिबार ७:२७ बजे

भैरहवा- बेलहियाबाट आउने प्रत्येक सवारीसाधन भैरहवासम्म आउँदा ३-४ ठाँउमा चेकजाँच हुने भएपनि यस क्षेत्रमा सञ्‍चालित क्यासिनोका अधिकांश गाडी प्रहरी चेक पोस्टमा विना चेकजाँच आउने गरेका छन् ।

सर्वसाधरणको गाडी भन्सार, वाइपास र डण्डास्थित चेक प्वाइन्टमा अनिवार्य रुपमा रोकिए पनि भैरहवामा सञ्‍चालित क्यसिनोका गाडि रोक्न भने न त सशस्त्र प्रहरीले हात दिने गरेको छ न त नेपाल प्रहरी नै । सामान्य सर्वसाधारणले बोकेका झोला पनि उसैगरी जाँचिन्छन् । तर क्यासिनो तथा होटेलका गाडिलाई भने सीमा क्षेत्रमा एक पटक पनि जाँच नगरी सीमा क्षेत्रमा सुरक्षाका लागि बसेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै क्यासिनोका गाडीलाई निर्बाध आउजाउ गर्न दिइरहेका छन् ।


यस क्षेत्रमा करिब आधा दर्जन बढि होटलमा क्यासिनो सञ्‍चालनमा छन । ती होटलका क्यासिनो सञ्‍चालकले क्यासिनो खेल्न आउने र क्यासिनो खेलेर फर्कने भारतीय नागरिकलाई लक्षित गरी बेलहियासम्म गाडिको पिक एण्ड ड्रप सेवा दिँदै आएका छन् । बेलहियाको भन्सार अगाडि पार्किङ गरी राखिएको गाडीमा भारतिय नागरिकलाई होटलसम्म पुर्‍याउन र होटलबाट बेलहियासम्म पुर्‍याउनका लागि ५–६ वटा भ्यान नियमित रुपमा चेक प्वाइन्टबाट ओहोर दोहोर गरेपनि सुरक्षा निकाय मुकदर्शक भएर बसेका हुन्छन् । सीमा क्षेत्रबाट चार किलोमिटर दूरीमा रहेको भैरहवामा भारतीय ग्राहकलाई आकर्षित गर्न क्यासिनो खोलिएका हुन् ।

आइतबार राती ९ बजे विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका-१, डण्डाबाट सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित गुल्म) ले २ वटा भ्यान रोकी चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ती भारतिय नागरिकको साथबाट नेपालमा बन्देज गरिएको ५ सय दरका भारतीय नोट १२ लाख बरामद भएको थियो ।

अवैधानिक कार्य भएको सूचना पाएसँगै सशस्त्र प्रहरी नायब उपरिक्षकको कमाण्डमा खटिएको टोली ती गाडिबाट पूर्व सूचना अनुसार कै घटना बाहिरिए पनि बुधबार दिउँसो एक घण्टाको स्थलगत रिर्पोटिङ गर्दा क्यासिनोको गाडि पटक पटक गरी १६ पटक ओहोर दोहोर गरेपनि न त सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेक प्वाइन्टले रोक्यो न त इलाका प्रहरी कार्यालय बेलहियाबाट वाइपासमा भएको चेक प्वाइन्टले नै ।

स्रोतका अनुसार क्यासिनो आउने भारतीय नागरिकहरू अधिकांश होटल आउँदा नगद नलिइ आउने गरेका छन् । उनीहरूले होटल नजिकै रहेका भारतीय एजेन्टहरूबाट सिमित प्रतिशतसम्म अनलाइनमार्फत नगद लिने गरेका छन् । हुन्डी र सुनको कारोबारीहरूले क्यासिनोको गाडिमार्फत नगद ओसारपसार गर्ने गरेका छन् ।

क्यासिनो सञ्‍चालकहरुले ग्राहकको सहजताका लागि पिक एण्ड ड्रप सेवा दिँदै आएका बताउँछन् । हामीहरूलाई पैसाको बारेमा थाहा हुँदैन, होटलबाट सिमा र सिमाबाट होटल सकुसल पुर्‍याउने जिम्मा आफुहरूको रहेको उनीहरू बताउँछन् ।

तर आइतबार भएको घटनामा लु २ च ७३५० नम्बरको होटल लाकौल र प्रदेश ०१-०२६ च ३६५२ नम्बरको नान्स होटलमा सञ्‍चालित क्यासिनोको भ्यानमा अवैध रकम भेटिएको छ । भ्यानमा सवार भएको तीन जना भारतिय र बरामद रकमको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरीले राजश्व अनुसन्धान कार्यालय बुझाएको थियो ।

रकमसहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी पक्राउ परेका थिए भने भ्यान आवश्यक पर्ने बेला हाजिर हुने गरी छाडिएको छ ।
 


Author

थप समाचार
x