भागबण्डाका आधारमा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत
जनकपुरधाम- नेकपा एमाले मधेश प्रदेशका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् । त्यस्तै उपाध्यक्षमा संविधान सभा सदस्य एवं पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवद्वयमा रौतहटकी आरती भण्डारी र धनुषाको मोहम्मद कैस चयन भएका छन् ।
अध्यक्षसहित पाँच जना पदाधिकारीको नाममा सहमति जुटेको एमाले धनुषा अध्यक्ष एवं अध्यक्ष पदका दाबेदार राजकिशोर यादवले जानकारी दिएका छन् । अध्यक्षका दाबेदार रहे पनि उम्मेदवारी किन नदिएको भन्ने जिज्ञासामा सबै पक्षबाट सर्वसम्मत भइसकेपछि आफूले पनि समर्थन गर्दै उम्मेदवारी नदिएको उनले बताए ।
चन्देश्वर मण्डल पार्टी केन्द्रीय सचिव एवं मधेश इन्चार्ज योगेश भट्टराई नजिकका पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ समूहबाट उम्मेदवार थिए । सचिव भट्टराईकै दबाबमा मण्डल सर्वसम्मत हुन सकेको स्राेतको दाबी छ । राजकिशोर यादव अर्का सचिव रघुवीर महासेठ समूहबाट उम्मेदवार थिए ।
महासेठ समूहबाट अर्का अध्यक्ष दाबेदार विचारी यादवले सहमतिमा उपाध्यक्ष पदका पाएका छन् । सचिवका उम्मेदवार मनोज पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य जुलीकुमारी महतो निकट रहेको स्रोतको भनाइ छ ।
सर्वसम्मत भए पनि निर्वाचन प्रक्रियाका मनोनयन दर्ता समेत भएको छ । सदस्य पद बाहेक पदाधिकारी पदमा एक जनाले मात्र उम्मेदवारी दिने गरी सहमति अनुसार मनोनयन दर्ता भएको स्राेतले जनाएको छ । निर्वाचन प्रक्रिया सम्पन्नपछि सर्वसम्मत पदाधिकारीहरूको पनि घोषणा गरिने जनाइएको छ ।
जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने कसरत भइरहेको थियो । बिहीबार राति नै निर्वाचन प्रक्रिया र सर्वसम्मति हुने कार्यतालिका रहेकोमा वर्तमान सचिव पौडेलको निधनले शुक्रबार बिहान ८ बजेसम्मका लागि अधिवेशनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको थियो ।
शुक्रबार बिहानदेखिको कसरतपछि महासेठ र श्रेष्ठ समूहबाट बाँडफाँटका आधारमा पदाधिकारीहरू सर्वसम्मत भएका हुन् । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको स्राेतको भनाइ छ । यसमा एमालेभित्र स्थानीय स्तरमा देखिएका समूहहरूलाई व्यवस्थापन गरिएको छ । यता मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशित भइसकेको र मतदान प्रक्रिया पनि चाँडै थालिने निर्वाचन अधिकृत टिकाध्वज खड्काले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया