सार्वजनिक लेखा समितिको तीन दिने प्रशिक्षण सौराहामा
जनकपुरधाम- सार्वजनिक लेखा समितिमा आबद्ध मधेश प्रदेश सभाका सांसदहरू दक्ष बनाउन चितवनको सौराहामा तीन दिने प्रशिक्षण सुरु भएको छ ।
बिहीबारदेखि सुरु भएको सो तीन दिने प्रशिक्षणमा सार्वजनिक लेखा समितिको काम, कर्तव्य एवं अधिकारबारे जानकारीसहित सार्वजनिक लेखा समितिले कुन कुन विषयमा कसरी छानबिन गर्न पाउनेबारे प्रशिक्षण दिइने जनाइएको छ ।
प्रशिक्षणको पहिलो सार्वजनिक लेखा समितिको काम कर्तव्य अधिकारबारे जानकारी दिइएको छ भने भोलि सार्वजनिक लेखा समितिले कार्यक्षेत्र, कसरी काम गर्न सक्ने, बेरुजबारे प्रशिक्षण दिइने सार्वजनिक लेखा समितिका सभापति मंजु थापा मगरले जानकारी दिएकी छिन् ।
सो प्रशिक्षणमा विज्ञका रूपमा संघीय संसद् सचिवालय सार्वजनिक लेखा समितिका पूर्व सचिव सोमबहादुर थापा र महालेखा परीक्षक श्यामप्रसाद भण्डारी रहेका छन् । बिहीबार पहिलो दिन पूर्व सचिव थापाले सार्वजनिक लेखा समिति र यसको जिम्मेवारीबारे प्रशिक्षण दिएका छन् । जसमा महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफलका साथै लेखाको प्रकारहरू वित्तीय अनुसन्धान सम्बन्धमा जानकारी गराइएको सभापति मगरले जानकारी दिइन् ।
उपसभामुख बबिता राउत ईशरको प्रमुख आतिथ्यमा सुरु भएको सो प्रशिक्षण कार्यक्रममा सार्वजनिक लेखा समितिका १५ जना सदस्य मध्ये १३ जना सदस्यहरू सहभागी भएका छन् । समितिका सदस्य सांसद अनिरुद्ध साह पक्राउ परेका कारण र जनमत पार्टीका चन्दन सिंहसहितका दुई जना सांसद अनुपस्थित रहेको जनाइएको छ ।
प्रदेशमा कार्यक्रम नगरी चितवनको सौराहामा कार्यक्रम आयोजनाले चौतर्फी आलोचना भइरहेको जिज्ञासामा समितिका सभापति मगरले प्रशिक्षण सिक्ने अवसर जस्ता संवेदनशील भएको कारणले प्रदेश बाहिर आयोजना गरिएको हो । प्रदेशभित्र आयोजना गर्दा सांसदहरू ढिलो गरी आउने, उपस्थित नै नहुने, उपस्थित भए पनि बीचमै घर गई दिने वा कुनै कार्यक्रममा प्रशिक्षण छाडेर गई दिने यावत समस्याका कारण प्रदेश बाहिर आयोजना गरिएको उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया