विद्युतीय झिलिमिली बत्तीले कुम्हाल जातिको पेसा संकटमा
जनकपुरधाम- हिन्दु धर्ममा माटोको दियोकाे निकै महत्व छ । पूजा, विवाह तथा व्रतबन्धदेखि विभिन्न चाडपर्वमा मिथिला संस्कृतिमा माटोको दियोकाे नै महत्वपूर्ण स्थान रहन्छ । मिथिलाञ्चल क्षेत्रमा खासगरी दीपावली (तिहार) र छठ पर्वमा माटोको दियोकाे अनिवार्यता नै हुन्छ । तर, बदलिँदो आधुनिक कालमा विद्युतीय र पानीले बल्ने सेन्सर दियो बजारमा आउन थालेपछि शहरी क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत माटोको दियोले बजार पाउन छाडेको छ ।
माटोको दियोको बिक्री वितरणमा ह्रास आएपछि पुर्ख्यौली जातीय पेसामा लागेका कुम्हाल जातिको पेसा नै संकटमा परेको छ । दीपावली नजिकिएसँगै प्रतिगोटा १/२ रुपैयाँमा पनि बिक्री भइरहेको छैन । तर, गोटाको एक सयदेखि दुई सय रुपैयाँमा बिक्री हुने विद्युतीय र सेन्सर दियो असंख्य रूपमा बिक्री वितरण भइरहेको पाइन्छ ।
जनकपुरधामस्थित दिपेश इलेक्ट्रिकका सञ्चालक दिपेश श्रेष्ठ भन्छन्, 'विद्युतीय दियो र झिलिमिली बत्तीको राम्रो बिक्री भइरहेको छ । आकर्षक र टिकाउ भएका कारण विद्युतीय झिलिमिली बत्ती र दियो ग्राहकले बढी मन पराउने गरेकोले बढी बिक्री वितरण भइरहेको हाे ।'
यस्तै विद्युतीय सामग्रीको होलसेल बिक्री गर्दै आएकाे कृष्णा इलेक्ट्रिक पसलमा बत्ती किन्नेहरूको भिड बढेको छ । पसलका सञ्चालकले चाइनिज झिलिमिली बत्तीको अत्यधिक माग रहेको बताए । उनले भने, 'माटोको दियो र सिसाको बोतलमा मट्टितेल डिबिया परम्परागत तथा झन्झटिलाे र आगो लाग्न सक्ने सम्भावना रहेकाले ग्राहकहरूले विद्युतीय बत्ती र दियो नै मन पराउने गरेका छन् ।'
केही वर्षदेखि पित्तलको दियो तथा भाँडा बजारमा बिक्री हुन थालेका कारण समेत माटोको दियोलाई बजार पाउन मुस्किल परेको व्यवसायीहरूकाे भनाइ छ । बसहियाका माटाको भाँडाकुँडाका व्यवसाय राजेश पण्डित बजारमा विद्युतीय बत्ती र सेन्सर दियो तथा पित्तलको दियो, कलश आउन थालेपछि माटोको दियो र कलश लगायतका सामग्री बिक्री निकै कम भएको बताउँछन् । यसले कुम्हाल जातिकै पेसा संकटमा परेको उनले बताए ।
यस्तै उमेरले ६० कटेका बसहियाकै व्यवसाय राजेश्वर पण्डितले माटोको दियो र कलश लगायतका भाँडावर्तनले बजार पाउन नसक्दा पेसा संकटमा परेपछि कुम्हाल जातिका युवाहरू पुर्ख्यौली पेसा छाडेर अन्य पेसामा लाग्न बाध्य भएकाे बताए ।
राजेश्वर भन्छन्, ‘माटोको सामग्रीको बिक्री वितरणमा धेरै पहिलादेखि नै ह्रास आएको हो । कुनै विशेष पर्व वा सिजनमा मात्रै बिक्री हुने गर्दछ त्यसमध्ये दीपावली र छठ हो । तर, अहिले बजारमा चाइनिज र इण्डियन विद्युतीय झिलिमिली बत्ती, पित्तल तथा तामाका कलश लगायतका भाडावर्तन आउन थालेपछि यी पर्वमा पनि निकै कम नाम मात्रको बिक्री भइरहेको छ ।'
उनी अगाडि भन्छन्, ‘केही वर्षअघिसम्म माटोका सामग्रीहरू बेचेर सिजन अनुसार अरुले ३० हजारदेखि १ लाखसम्म आम्दानी गर्ने गर्थे । तर, बढेको आधुनिकतासँगै विद्युतीय झिलिमिली बत्ती तथा पित्तल तामाका सामग्री बजारमा आउन थालेपछि अन्य महिना त कुरै छाडौँ विशेष पर्व तिहारमा समेत २०/२५ हजार रुपैयाँसम्म कमाउन गाह्राे भएको छ ।'
राजेश्वर जस्तै दैनिकी वडा नम्बर १२ कुवाका ५१ वर्षीय रामबली पण्डितको पनि छ । उनले माटाको भाँडाकुँडाको व्यवसाय सुरु गरेको लगभग १५ वर्ष भइसकेको छ । रामबली पनि एक सिजनमा राजेश्वर जस्तै ३० देखि ३५ हजारसम्म कमाउँथे । तर, अहिले उनको पनि व्यवसाय धरापमा परेको छ । उनले भने, 'घर-परिवारमा अरु कोही यो पेसामा आबद्ध छैनन् आफू एक्लैले जति सक्छु त्यतिसम्म बनाउने कोसिस गरिरहेको छु । पहिला महिनाको ३० देखि ३५ हजारसम्म आम्दानी हुने अवस्थामा अहिले दीपावली छठ जस्ता सिजनमा पनि त्यति रुपैयाँ कमाउन मुस्किल भएको छ ।'
रामबलीलाई पर्वहरूमा समेत बढ्दै गइरहेको आधुनिकताले पिरोलिरहेको छ । उनी भन्छन्, ‘आज भोलि विद्युतीय बल्ब, झिलिमिलीको अत्यधिक प्रयोग हुने गरेको छ, जसकारण हामीले दिनरात एक गरेर बनाएको दियो बेच्न समेत निकै नै समस्या हुन्छ त्यसमा पनि त्यति मिहिनेत गरेर निर्माण गरेका सामग्रीहरूको उचित मूल्य नपाउँदा घाटा सहेर पनि आफ्नो पुर्ख्यौली पेसालाई जोगाउन यो व्यवसायमा लागेको छु ।’
'आजभन्दा ५ वर्ष पहिले ५० रुपैयाँ थियो कलशको भाउ र अहिले पनि त्यति रुपैयाँमै बेच्ने गरेका छौँ । तर, बजारमा दुई/दुई हजारसम्म तिरेर पित्तल तथा तामाका कलश लगायतका भाँडावर्तन र हजार रुपैयाँसम्म तिरेर दियो पर्व मनाउनेहरूले किनिरहेका छन्,' उनले दुखेसाे पाेख्दै भने, 'बढ्दो आधनुकिताले जातीय पेसा मात्रै संकटमा परेको छैन । पर्व त्योहारको परम्परागत संस्कृति समेत हराउँदै गएर नाम मात्रमा सीमित हुन पुगेको छ ।'
जनकपुरधाम-१२ कुवाकै बिल्टु पण्डित भन्छन् पनि आधुनिकता अनुसार पेसामा आधुनिकीकरण ल्याउन नसक्दा कुम्हाल जातिको पेसा संकटमा पर्न गएको बताउँछन् । उनले भने, 'भारततिर बिहार राज्यमा केही वर्षअघि कुम्हाल जातिको पेसा जोगाउन सरकारद्वारा माटोकै वर्तनमा चिया बेच्ने अनिवार्यता गरेको थियो । तर, हाम्रो देशमा न त संघीय सरकार, न त प्रदेश सरकार नै चासो देखाएकाे छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया