मंसिर १ गतेदेखि फेरिँदै जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका
फाइल तस्बिर
धनुषा- नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।
भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए ।
मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उनको भनाइ छ । दैनिक आउजाउ गरी छ पटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ ।
जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । महाप्रबन्धक झाले भने, “चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ ।” परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७:३० प्रस्थान र जयनगर ९:१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४:१५ बाट चल्ने रेल साँझ ७:१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११:१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११:४५ बजे चल्ने रेल जयनगर दिउँसो १:१५ बजे पुग्ने जनाएको छ । यसैगरी फेरि जयनगरबाट दिउँसो १:४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३:१० बजे आइपुग्ने र सोही रेल पुन: जनकपुरधामबाट दिउँसो ३:१५ बजे सञ्चालन भई दिउँसो ४:४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिए ।
दिउँसो ४:४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने उनले भने । यो रेल साँझ ७:१५ बजे भङ्गहा (विजपुरा) पुगेर रात्रि विश्राम बस्ने छ । यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थाबाट महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७ दशमलव पाँच किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भङ्गाहाबाट बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनका लागि लिक निर्माण भइरहेको छ ।
विसं १९९४ मा जुद्धशम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो । नेपालमा पहिलो रेल सेवा १९८४ सालमा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो ।
अहिले सञ्चालन भइरहेको नेपाली रेल २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकर्ण कर्पोरेशनसँग रु ८४ करोड ६५ लाखमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया