जनप्रतिनिधि धर्नामा, मेयरको घरैमा हिउँदे अधिवेशन
रौतहट- रौतहटको कटहरिया नगरपालिकामा ठूलो बेथिति देखिएको छ ।
एकातर्फ मेयर अजयप्रकाश जैसवालमाथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरू आइतबार सातौं दिन पनि खबरदारी जारी राखेका छन् । भने, अर्कोतर्फ मेयर जैसवाल कटहरिया-९ डुमरियास्थित आफ्नो घरमै पूर्ण बहुमतका साथ हिउँदे अधिवेशन भएको घोषणा गरेका छन् ।
अधिवेशनको खुसियालीमा दुईवटा खसी काटेर आइतबार भोज भतेर भइरहेको छ भने उपमेयरसहित जनप्रतिनिधिहरू जाडोको बाबजुद दिनभरि धर्नामा बस्दै दिन बिताउँदै आएका छन् ।
उपमेयर रिता देवी यादव, वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा-४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता, ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्ववडाध्यक्ष उमेश यादव, बाल्मीकी यादव, वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौँ नेता कार्यकर्ताले ८ बुँदे मागसहित गत आइतबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।
आन्दोलनरत जनप्रतिनिधिहरू सोही दिनदेखि प्रत्येक दिन कार्यालय समयभरी बिहान १० देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा बसेर खबरदारीसहित धर्नामा बस्दै आएका छन् ।
माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोलिने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
तर, उनको चेतावनीका बाबजुद उनीहरूको कुनै वास्ता नगरी मेयर अजयप्रकाश जैसवाल आइतबार बहुमतसहित हिउँदे अधिवेशन सम्पन्न भएको दाबी गरेका छन् ।
कटहरिया नगरपालिकाको ९ वडा मध्ये ५ जना वडाध्यक्ष, १९ कार्यपालिका सदस्य मध्ये १४ जना कार्यपालिका सदस्य मेयरसहित बहुमत साथ अधिवेशन सम्पन्न भएको उनले दाबी गरेका छन् । अधिवेशनमा जनप्रतिनिधिको साथै प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह लगायत नगरपालिकाको कर्मचारीको समेत सहभागिता रहेको थियो । नगरपालिकाको प्राङ्गणमा विवाद देखिएकाले नगरभित्र बहुमत साथ हिउँदे अधिवेशन गरिएको मेयर जैसवालले प्रतिक्रिया दिएका छन् ।
कटहरिया ४ का वडाध्यक्ष चन्दन कुशवाहाले जनताको माग र जनतालाई अपहेलना गरी जी स्वार्थका लागि आफ्नो निजी घरमा गरिएको नगर अधिवेशनले कटहरिया नगरवासीको हित कदापी हुन नसक्ने दाबी गरेका छन् ।
'कटहरिया नगरपालिकामा बहुमत हुँदाहुँदै कटहरिया कार्यालयमा हिउँदे अधिवेशन नगरी आफ्नो निजी घरमा कार्यपालिका सदस्य र कर्मचारीलाई बोलाई गरिएको हिउँदे अधिवेशनको घोर भर्त्सना गर्दछु,' वडाध्यक्ष कुशवाहाले भने ।
चोर बाटोबाट गरिएको अधिवेशनको कुनै मान्यता नहुने र आन्दोलन जारी रहने उपमेयर रिता देवी यादवले बताएकी छन् ।
आन्दोलनरत पक्षको के थियो ८ बुँदे माग ?
नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै विगतमा नगर क्षेत्रभित्र हैन्डपाइप जडानमा छुट्याइएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विद्युत् पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नुपर्ने, आर्थिक वर्ष २०७९/०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघसंस्थाबाट आएको योजनाको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी, करार, डोरको संख्या, नाम ठेगानासहित उनीहरूको तलबमानको विवरण तथा भुक्तानीबारे लिखित जानकारी गराउन माग गरिएको छ ।
किन भएको थियो तालाबन्दी ?
यसअघि गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुँदे मागबारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए । २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल, प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहसहित अनुपस्थित रहेको र मेयरले हिउँदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरूको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरु गरेकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका थिए ।
एकातर्फ विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिउँदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरूले बताउँदै आएका छन् ।
मासिक १० लाखभन्दा बढीको डिजेल, पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीने गरेको उनीहरूले दाबी गरेका छन् ।
तालाबन्दी पछि मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंह कार्यालयमा अनुपस्थित रहेका थिए ।
आन्दोलनरत जनप्रतिनिधिहरूले अबको लडाई अझ सशक्त हुने प्रतिक्रिया दिँदै हिउँदे अधिवेशन कुनै पनि हालतमा आफूहरूलाई मान्य नहुने दाबी गरेका छन् । न्युजकारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया