मधेश

धनुषामा जेठ ३१ गतेसम्म निषेधाज्ञा

इकागज |
जेठ २४, २०७८ सोमबार २१:३ बजे

जनकपुरधाम : धनुषामा पाँचौ पटक ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला कोभिड-१९ संकट  व्यवस्थापन समितिको बसेको बैठकबाट संक्रमणको दर कम हुन नसकेको ठहर गर्दै जेठ ३१ गतेसम्म निषेधाज्ञा यथावत राख्‍ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा जेठ २४ गते राति १२ बजे देखि जेठ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याएको प्रजिअ बास्तोलाले बताए ।


धनुषामा बैशाख २१ गतेदेखि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा अवधिमा  सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ भने मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, दुरसंचार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहरमैला व्यवस्थापन, खाद्यान्‍न, फलफुल, पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने अनुमति प्राप्त सवारी साधनमा रोक लगाइएको छैन् ।

बैठकले सबै प्रकारको सभा, सम्मेलन,  गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्गपुल, हाट बजार, मनोरञ्‍जन स्थल, सैलुन, ब्यूटि पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदी संचालनमा रोक लगाइएको छ । वैवाहिक कार्यक्रममा स्वास्थ्य मापदण्डको पालना गरी बढिमा १५ जनालाई सहभागी हुन दिने जनाइएको छ ।


Author

थप समाचार
x