मधेश

कर्फ्यु लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

इकागज |
फागुन ६, २०८० आइतबार १४:५६ बजे

रौतहट- रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएकाे हाे ।

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेका हुन् । घिउरा टोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या यकिन नभएको जनाएको छ । 


शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ । तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दु पक्षले गुनासो गर्दै आएको छ । 

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो । सहमतिविपरीत मुस्लिम समुदायका  केही उच्छृङ्खल युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेपछि मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यु आदेश जारी भएको थियो । 

कर्फ्यु आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ । दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन् । हाल कर्फ्युभित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ । मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सातसय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ स्थलगत खटेका छन् । दुवै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाइचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ । 

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल २४ घन्टादेखि ईशनाथ केन्द्रित भएका छन् । उनले दुवै समुदाय विगतको जस्तै मिलेर बसेको जस्तै पुनः मिलाउने आफूहरू प्रयासरत रहेको बताएका छन् । संघीय सांसद किरण साहले शनिबार भएको दुई पक्षीय सहमति तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् । उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन् । विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र- २ अन्तर्गत हिन्दु समुदायले मनाउने पर्वमाथि पटकपटक अर्का समुदायबाट हस्तक्षेपको प्रयास हुँदै आएको छ । सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा विभिन्न बाधा अवराेध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन् ।


Author

थप समाचार
x