रौतहटमा कर्फ्युको दायरा बढाइयो
रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै उच्छृङ्खल गतिविधि हुँदा स्थानीय प्रशासनले कर्फ्यु दायरा बढाएको छ । ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए ।
झडपमा मुस्लिम समुदायका केही व्यक्तिहरू पनि घाइते भएको तर घाइतेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको थियो । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए ।
स्थिति नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए । कर्फ्यु अवधिमै उच्छृङ्खल गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ ।
कर्फ्यु जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ । अवस्था सामान्य पनि भएको थियो ।
यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्छृङ्खल युवाहरूको समूहले ईशनाथ नगरपालिका औरैया गाउँमा रहेको मस्जिदको माथि गुम्बदबाट माइक (हरन ) खोलेको छ । यसरी मस्जिदको माथि रहेको माइक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएकी छन् ।
कर्फ्यु अवधिमै थप साम्प्रदायिक विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सिडिओ रेग्मीले आयतबार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाएका छन् ।
बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । साथै यस साम्प्रदायिक विवादलाई फैलाउने कुनै प्रकारको तस्बिर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।
पछिल्लो दुई/तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटनासँग जोडिएका विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सद्भाव कायम राख्न त्यस्तो गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लावासीलाई आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया