मधेश

कर्फ्युमै पुरानै सहमतिअनुसार सरस्वतीकाे मूर्ति विसर्जन गरिने, तीनजना डीआईजी खटिए

इकागज |
फागुन ७, २०८० सोमबार १४:३० बजे

फाइल तस्बिर

रौतहट- रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै पुरानै समतिअनुसार नै मूर्ति विसर्जन गर्ने निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गराउन मधेश प्रदेशका तीन जना डीआईजी रौतहटमा परिचालित भएका छन् ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञबिनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।​


सिडिओ हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव र सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

संघीय सांसद किरणकुमार साहको पहल तथा सिडिओ रेग्मीको अध्यक्षतामा ईशनाथ-७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँछेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने सहमति भएको थियो । 

सोही सहमतिअनुसार मूर्ति विसर्जन गर्न जनप्रतिनिधिसहित प्रशासन प्रमुखको टोली केहीबेर अघि घिउरा गाउँतर्फ रवाना भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गिरीले जानकारी बताइन् । शनिबार भएको सोही सहमतिअनुसार शनिबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए ।

स्थिति नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए । कर्फ्यु अवधिमै उच्छृङ्खल गतिविधि भएपछि स्थानीय प्रशासनले आइतबार कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ ।

कर्फ्यु जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ति परिचालन गरिएको छ । सिडिओ रेग्मीले आइतबार एक सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु जारी गरेका थिए ।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र कर्फ्यु जारी गरिएको थियो । कर्फ्यु अवधिमा शनिबारदेखि नै सरस्वतीको मूर्ति बाटो छेउमा प्रहरीको निगरानीमा राखिएको छ ।


Author

थप समाचार
x