मधेश

पारित हुन सकेन प्रदेश २ को नीति तथा कार्यक्रम

सुभाष कर्ण |
जेठ २९, २०७८ शनिबार २१:२० बजे

जनकपुरधाम : प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छलफल भएपनि शनिबार पारित हुन सकेन । बिहीबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा २४ घण्टे संशोधन प्रस्तावको समयावधि समाप्त भएपछि शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतद्वारा टेबुल गरिएको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले आ आफ्ना धारणा राखेका छन ।

बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले यस वर्षको नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको र बजेटमा समावेश नै नहुने खालका कुरा समेटिएको कुरा राखेका थिए । उनीहरुले सरकारले क्षमताभन्दा बढी कार्यक्रमहरु राखेर वाहवाही लुट्ने प्रयास मात्र गरेको धारणा राखेका थिए ।


बैठकमा प्रदेश सभा सदस्य रामआशिष यादवले भने, ‘हेर्दा र पढदा यस वर्षको नीति तथा कार्यक्रम सबै पक्षलाई समेटने गरी निकै राम्रो देखिन्छ । तर कतिको पुरा हुन्छ, त्यसमा विश्वास छैन । गत वर्षपनि धेरै राम्रा राम्रा योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको थियो । तर बजेट त्यस अनुसार विनियोजन गरिएन ।’

प्रदेश सभा सदस्य उपेन्द्र महतोले सरकारको देखाउने दाँत र गर्ने क्रियाकलाप फरक रहेको आरोप लगाउंदै नीति तथा कार्यक्रममा जनतालाई सपना देखाउने जस्ता कार्यक्रम समेटिएको भएपनि पुरा हुने कुनै आधार नदेखिएको बताए ।

त्यस्तै प्रदेश सभा सदस्यहरु सुन्दर बहादुर विश्वकर्मा, मन्जु यादव, लगन लाल चौधरी, मदन सेन श्रीवास्तव, शारदा थापा र बच्चा राउत अहिरले यस वर्षको नीति तथा कार्यक्रममा प्रायः योजना तथा कार्यक्रम गत वर्षको दोहरिएकै भन्दै नीति तथा कार्यक्रममा समेटिएका कुराहरुको आधारमै बजेट ल्याउनुपर्ने मांग गरे । जेठ ३० गते बस्ने प्रदेश सभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x