मधेश

धनुषामा निषेधाज्ञा एक साता थपियो

इकागज |
जेठ ३१, २०७८ सोमबार १७:३ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमणको दर रोकथाम तथा नियन्त्रणका लागि धनुषामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थपिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेठ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्‍ने निर्णय गरेको हो । 

कोभिड संक्रमणको दरमा केही कमी आएको देखिएपछि खुकुलो बनाउँदै संक्रमण पुर्णरूपमा रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । 


प्रजिअ बास्तोलाले बिहान ६ बजेदेखि ९ बजेसम्म खुल्ने अत्यावश्यक पसलहरूको समयावधि बढाएर बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म गरिएको छ भने औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरू चौबिसैं घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी खोल्न पाउने निर्णय भएको उनले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा होटल रेस्टुरेन्टहरूले अनलाइन अर्डर तथा होम डेलेभरि र टेक अवे विधिबाट मात्र सेवा सञ्‍चालन गर्नसक्ने भएपनि रात्रिकालिन व्यवसाय सञ्‍चालनमा पुर्णरूपमा रोक लगाइएको छ । निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने निर्णय बैठकले गरेको छ । 

स्थानीय प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ भने निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, सपिङ्ग मल, हाज बजार, मनोरञ्‍जन स्थल, सैलुन, ब्युटिपार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायतकाहरू सञ्‍चालनमा रोक लगाइएको छ ।


Author

थप समाचार
x