मधेश

महोत्तरीमा गोली प्रहार गरेर सुनचाँदी लुटपाट

इकागज |
असार ३, २०७८ बिहीबार ११:२९ बजे

फाइल फाेटाे

जनकपुरधाम : महोत्तरीमा लुटपाट गर्न आएको समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । समसी गाउँपालिका-१ पर्सा निवासी विरेन्द्र साहको सुनचाँदी गरगहनाको ज्वेलर्समा गएराति लुटपाट गर्न आएको समूहले गोली प्रहार गरेको हो । लुटेरा समूहको गोली प्रहारबाट पसल सञ्चालक ५० वर्षीय विरेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले शाहको कम्मरमा गोली लागेर गम्भीर घाइते भएको र उनलाई उपचारका लागि धरान लगिएको बताए । उनकाअनुसार लुटेरा समूहको रड प्रहारबाट अन्य तीन जनता घाइते भएका छन् । 

लुटेराहरूले रड र घरेलु हतियार प्रहार गरी साहकी श्रीमती ४५ वर्षीय शुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साहलाई समेत घाइते बनाएको प्रहरी उपरिक्षक आचार्यले जनाएको छ । उनीहरूको जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाएको छ ।


साहको घरमा सञ्चालनमा रहेको ज्वेलरी पसलबाट लुटेराहरूले चाँदी १७२ तोला करिब २ लाख ३२ हजार बराबरको सुन ५ तोला, करिब ४ लाख ६५ हजारको र नगद २ लाख गरी झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको प्रहरी उपरिक्षक आचार्यले जनाएको छ ।

महोत्तरीमा लुटेराहरूले समूहले पछिल्लो केहि समयदेखि आतंक मच्चाउदै आएको छ । गत सातामात्रै महोत्तरीकै लोहारपट्टी नगरपालिकाको बजार क्षेत्रकै घरमा लुटपाट गरी घरधनीलाई गोली हानी गम्भीर घाइते बनाएको लुटेरा समूहले फेरि बुधबार मध्यरात समेत सोही प्रकृतिको घटना घटाएको हो । 
 


Author

थप समाचार
x