सशस्त्र प्रहरी र एसएसबीद्वारा संयुक्त रूपमा दशगजाको सरसफाइ
रौतहट- रौतहटको सीमावर्ती इशनाथ नगरपालिकास्थित नेपाल-भारत सीमा दशगजामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रूपमा सरसफाइ गरेका छन् ।
'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, दुवै देशका जनप्रतिनिधि,भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त रूपमा दशगजा सरसफाइसँगै अन्तर्क्रिया कार्यक्रम समेत गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरैयासहित सशस्त्रका ४५ जना, नेपाल प्रहरीका ३ जना , एसएसबीका १४ जना र स्थानीय गरी झन्डै १५० जनाको टोलीले मंगलबार हात हातमा झाँडु लिएर इशनाथ १ बनजरहा स्थित ३४६.६ नम्बर सीमास्तम्भ (पिलर) देखि,३४६!७ नम्बर पिलर सम्म दशगजा क्षेत्रमा झण्डै ८०० मिटर सरसफाइ गरेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताएका छन् ।
सरसफाइपछि ईशनाथ नगरपालिकाकी मेयर कौशल्या देवीको प्रमुख आतिथ्य तथा दुबै देशका जनप्रतिनिधि सुरक्षा अधिकारीको सहभागीमा भएको अन्तरक्रिया कार्यक्रममा वर्षात् तथा मनसुनको समयमा हुनसक्ने बाढी डुबानबाट उत्पन्न हुने जोखिम, त्यसको समाधानको उपाय, विपदको समयमा फैलन सक्ने विभिन्न रोग तथा सुरक्षात्मक उपायको बारेमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बैठकमा मेयर कौशल्या देवीका साथै सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईं, भारत बिहार घोडासहन ब्लक अन्तर्गत ग्राम पञ्चायत बलुवाका मुखिया महमद फारुक आलम, सीमा सुरक्षा बल एसएसबीका अधिकारीसँगै दुवै देशका जनप्रतिनिधि तथा स्थानीय भद्र भलादमी गरी दुई सयभन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
रौतहटमा सशस्त्र प्रहरी प्रमुखको रूपमा एसपी विक्रम हुमागाईं आएदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया