मधेश

हावाहुरीले उडाएको जस्ताले लाग्दा १०७ वर्षीय वृद्धको मृत्यु

इकागज |
जेठ १८, २०८१ शुक्रबार १०:१८ बजे

सांकेतिक तस्बिर

पर्सा- हावाहुरीसहित बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर ज्यान गएको हो । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।  


हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् ।

उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चार वटा बाख्रा पनि मरेका छन् । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x